पुस ६
पौष ७ गते एकता सन्देश सभामा केन्द्रीय नेताहरूको सम्बोधन
झलारी – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरद्वारा आयोजना हुन लागेको जिल्ला स्तरीय एकता सन्देश सभाको सम्पूर्ण तयारी पूरा भएको छ । शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित खुला मञ्चमा पौष ७ गते सोमबार बिहान ११ः३० बजे हुने सभालाई भव्य र व्यवस्थित बनाउन पार्टीले अन्तिम तयारी सम्पन्न गरेको जनाएको छ ।
कार्यक्रमस्थलमा आइतबार व्यापक सरसफाइ, मञ्च सजावट, बसाइ तथा सुरक्षा व्यवस्थापन गरिएको छ । झलारी खुला मञ्चलाई पार्टीका झण्डा, ब्यानर र नाराले सजाइएको छ भने सहभागीको सहज आवतजावतका लागि स्वयंसेवक परिचालन गरिएको छ ।
नेकपा नेता तथा शुक्लाफाँटा नगरपालिका वडा नं. ३ का अध्यक्ष नरेन्द्र चौधरीका अनुसार सभालाई ऐतिहासिक बनाउने उद्देश्यले व्यवस्थापनमा कुनै कसर बाँकी राखिएको छैन । “पार्टी एकताको सन्देश जनतामाझ पुर्याउन कार्यक्रमलाई व्यवस्थित र अनुशासित बनाइएको छ,” उनले बताए ।
१० हजारभन्दा बढीको सहभागिता अपेक्षा-युवा परिचालन उपसमितिका संयोजक नवराज ऐरले सभामा १० हजारभन्दा बढी नेता–कार्यकर्ता, समर्थक र शुभचिन्तकको सहभागिता हुने अपेक्षा गरिएको जानकारी दिए । यातायात, स्वागत, स्वयंसेवक तथा अनुशासन व्यवस्थापनका सबै संयन्त्र तयारी अवस्थामा रहेको उनको भनाइ छ ।
जिल्ला एकता सन्देश सभा मूल परिचालन समिति कञ्चनपुरका संयोजक लोकेन्द्र लम्सालका अनुसार केन्द्र र प्रदेशस्तरमा सम्पन्न एकता सन्देश सभाको निरन्तरताका रूपमा जिल्लास्तरमा कार्यक्रम आयोजना गर्न लागिएको हो । सुप प्रदेशका पहाडी जिल्लामा सम्पन्न कार्यक्रमपछि कञ्चनपुरबाट अभियानलाई अगाडि बढाइएको उनले बताए ।
डा. भीम रावलसहित केन्द्रीय नेताहरू झलारी आउँदै
जिल्ला एकता सभा सह–संयोजक प्रकाश रावलका अनुसार सभालाई नेकपाका केन्द्रीय नेताहरूले सम्बोधन गर्नेछन् । कार्यक्रममा पूर्व उपप्रधान तथा गृहमन्त्री डा. भीम रावल, पूर्व शिक्षा तथा स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, पूर्व मन्त्री भानुभक्त जोशी र खगराज भट्टलगायत नेताहरूको उपस्थिति रहनेछ ।
देशको वर्तमान राजनीतिक अवस्था, राष्ट्रिय हित, स्वाधीनता, सार्वभौमसत्ता, अखण्डता र कम्युनिष्ट एकताको सन्देश जनतासमक्ष पुर्याउने उद्देश्यसहित जिल्ला एकता सन्देश सभा आयोजना गर्न लागिएको नेकपाले जनाएको छ ।
