पुस ८
धनगढी–१६,
कैलाली- कैलालीको धनगढी उपमहानगरपालिका–१६ भादा गाउँमा आउँदो १७ गतेदेखि २१ गतेसम्म थारु होमस्टे भादा महोत्सव आयोजना हुने भएको छ। महोत्सवको तयारी तीव्र रूपमा अघि बढिरहेको थारु होमस्टे भादा महोत्सव मूल आयोजक समितिले जनाएको छ।
मूल आयोजक समितिका संयोजक लक्ष्मीनारायण चौधरीका अनुसार थारु जातिको परम्परागत भेषभूषा, भाषा, कला–संस्कृति र मौलिक परिकारको प्रवर्द्धन गर्दै पर्यटन विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो। थारु सामुदायिक होमस्टेको प्रचार–प्रसार पनि महोत्सवको मुख्य लक्ष्य रहेको उनले बताए।
२०७६ साल पुस १७ गतेदेखि भादा गाउँका १७ घरबाट सुरु भएको होमस्टे हाल २० घरमा विस्तार भइसकेको छ। महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति, थारु परिकार, देउथान तथा थारु संग्राहलय अवलोकनको व्यवस्था रहनेछ। साथै खुल्ला भलिबल प्रतियोगिता, फोटो, हस्तकला र कृषि प्रदर्शनीसमेत आयोजना गरिनेछ।
महोत्सव अवधिमा करिब एक लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ। कोरोना महामारीका कारण प्रभावित भएको होमस्टे व्यवसाय अहिले पुनः फस्टाउँदै गएको आयोजकले जनाएको छ। महोत्सव निःशुल्क अवलोकन गर्न पाइनेछ।
