धनगढीमा नेकपा सुदूरपश्चिम प्रदेशको पत्रकार सम्मेलन सम्पन्न

हेमा भट्ट पुस ९
धनगढी, कैलाली
नेपाली कम्युनिस्ट पार्टी सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा पत्रकार सम्मेलन सम्पन्न भएको छ। सम्मेलनमा नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय नेता भिम रावलले समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय स्वाधीनता, विकासको वर्तमान दिशा, पार्टीको वैचारिक धारणा तथा आगामी कार्यदिशाबारे विस्तृत रूपमा आफ्ना विचार राख्नुभयो।

पत्रकार सम्मेलनमा बोल्दै नेता रावलले अहिलेको देशको प्रमुख निकास भनेको जनताको आवाज सुन्ने, जनताका वास्तविक आवश्यकता पहिचान गर्ने र संविधानको मर्मअनुसार राज्य सञ्चालन गर्नु रहेको स्पष्ट पार्नुभयो। उहाँले विकासको नाममा जनताको हितभन्दा बाह्य शक्तिको प्रभाव बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै भन्नुभयो, “आज विकास जनताको आवश्यकता अनुसार होइन, विदेशी स्वार्थ अनुसार निर्देशित भइरहेको छ, जुन देशका लागि घातक छ।”

उहाँले सिमाना अतिक्रमणका विषयहरू, विशेषगरी लिपुलेख, लिम्पियाधुरा र भैरहवाको सीमा क्षेत्रमा भइरहेका गतिविधिप्रति राज्य गम्भीर हुन नसकेको आरोप लगाउनुभयो। “राष्ट्रिय स्वाधीनता र भू–अखण्डतामाथि प्रश्न उठिरहँदा पनि सत्ताधारीहरू मौन बसिरहेका छन्,” रावलले भन्नुभयो, “नेपाली कम्युनिस्ट पार्टीले यी विषयमा निरन्तर आवाज उठाउँदै आएको छ र अब अझ सशक्त रूपमा सडक र सदन दुवैमा उठाउनेछ।”

पार्टी सुदृढीकरण र आगामी निर्वाचनको सन्दर्भमा नेता रावलले जनताको पक्षमा उभिने वैचारिक रूपमा स्पष्ट र इमानदार नेतृत्व आवश्यक रहेको उल्लेख गर्नुभयो। उहाँले अहिलेको राजनीतिक अवस्थाप्रति व्यंग्य गर्दै भन्नुभयो, “देशमा दुई तिहाइको सरकार हुँदा पनि प्रधानमन्त्रीले आफ्नै देशमा सुरक्षित महसुस नगरी हेलिकप्टर चढेर हिँड्नुपर्ने अवस्था किन आयो ? यो अवस्था कसले सिर्जना गर्‍यो ? जनताले अब गम्भीर रूपमा सोच्नुपर्ने बेला आएको छ।”

नेता रावलले जेन–जी (Gen Z) पुस्ताको भूमिकालाई विशेष महत्व दिँदै भन्नुभयो, “आजको युवा शक्ति देशको भविष्य हो। तर दुर्भाग्य, यही देशको नेतृत्व सम्हाल्नेहरू आफ्ना सन्तान विदेश पठाइरहेका छन्, अमेरिका पठाएर आफू देशभक्ति भाषण गरिरहेका छन्। यस्तो नेतृत्वमाथि अब भरोसा गर्न सकिँदैन।” उहाँले युवालाई सचेत, संगठित र वैचारिक रूपमा स्पष्ट भएर नेतृत्वको जिम्मेवारी सम्हाल्न आह्वान गर्नुभयो।

राज्यले संविधानको टेकेर अघि बढ्नुपर्नेमा जोड दिँदै नेता रावलले संविधान उल्लंघनका गतिविधिहरू बढ्दै गएकोप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो। “संविधान जनताको अधिकार सुनिश्चित गर्ने दस्तावेज हो, तर आज सत्तामा रहेका शक्तिहरूले यसलाई आफ्नो स्वार्थअनुसार व्याख्या गरिरहेका छन्,” उहाँको भनाइ थियो।

पत्रकार सम्मेलनमा नेता रावलले विदेशी शक्तिको हस्तक्षेप दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै त्यसको प्रतिरोध गर्न राष्ट्रिय स्वाभिमान र आत्मनिर्भर अर्थतन्त्रको आवश्यकता औंल्याउनुभयो। उहाँले भन्नुभयो, “देशको विकास विदेशी दाताको निर्देशनमा होइन, जनताको आवश्यकता र क्षमताका आधारमा हुनुपर्छ।”

अन्त्यमा उहाँले असल नेतृत्वको छनौट गर्न आम जनतालाई आग्रह गर्दै भन्नुभयो, “देशलाई संकटबाट बाहिर निकाल्ने जिम्मेवारी नेपाली कम्युनिस्ट पार्टीले मात्र वहन गर्न सक्छ। जनताको पक्षमा उभिने, राष्ट्रको स्वाधीनता जोगाउने र युवालाई नेतृत्वमा ल्याउने स्पष्ट दृष्टिकोण हाम्रो पार्टीसँग छ।”

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेशका विभिन्न सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो। सम्मेलनले समसामयिक राजनीति, राष्ट्रिय स्वाधीनता र आगामी राजनीतिक दिशाबारे महत्वपूर्ण सन्देश दिएको आयोजकले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply