क्रिसमस डेले राष्ट्रिय एकता र सामाजिक सद्भाव बढाउँछ : प्रदेश प्रमुख नजिर मियाँ

पुस १०

कैलाली — सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले क्रिसमस डेजस्ता पर्वहरूले नेपाली समाजमा राष्ट्रिय एकता, आपसी सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ।

क्रिश्चियन धर्मका प्रवर्तक येशु ख्रीष्टको जन्मदिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख मियाँले नेपाल बहुजाति, बहुभाषी र बहुसांस्कृतिक मुलुक भएकाले यस्ता धार्मिक तथा सांस्कृतिक पर्वहरूले विविधताबीचको एकतालाई मजबुत बनाउने उल्लेख गर्नुभएको छ।

उहाँले यस्ता पर्वहरूले विभिन्न जातजाति, भाषा र समुदायलाई आफ्नो मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा संवर्द्धन गर्न प्रेरणा प्रदान गर्ने बताउनुभयो। साथै यस्ता अवसरहरूले सामाजिक सद्भाव, सहिष्णुता र आत्मीयताको भावना विकास गर्दै राष्ट्रिय एकतालाई अझ बलियो बनाउनेमा महत्त्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ।

प्रदेश प्रमुख मियाँले जारी गर्नुभएको सन्देशमा नेपाली समाजमा आपसी विश्वास, प्रेम र भाइचारा अभिवृद्धि हुँदै देशको समग्र विकास र समृद्धिको यात्रामा सबै एकताबद्ध भएर अघि बढ्ने वातावरण बन्ने विश्वाससमेत व्यक्त गरिएको छ। विविध धर्म, संस्कृति र आस्थाबीचको सहअस्तित्व नै नेपालको पहिचान भएको उल्लेख गर्दै उहाँले यस्ता पर्वहरूले सामाजिक एकता मजबुत बनाउने स्पष्ट गर्नुभएको छ।

क्रिश्चियन समुदायले हर्षोल्लासका साथ मनाउने क्रिसमस डे विश्वभर शान्ति, प्रेम र मानवताका सन्देश फैलाउने पर्वका रूपमा लिइन्छ। धार्मिक ग्रन्थअनुसार आजभन्दा करिब दुई हजार २५ वर्षअघि डिसेम्बर २५ का दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको मान्यता रहेको छ।

नेपालमा पनि क्रिसमस डे विविध कार्यक्रमका साथ मनाइँदै आएको छ, जहाँ विभिन्न धर्म र समुदायका व्यक्तिहरूको सहभागिता रहने गर्दछ। यस्ता पर्वहरूले धार्मिक सहिष्णुता र आपसी सम्मानको संस्कारलाई थप बल पुर्‍याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply