हेमा भट्ट, पुस ११
कञ्चनपुर — कृष्णपुर नगरपालिका वडा नम्बर २ निवासी पदम राना (बादी) नेपाली राजनीतिक आन्दोलनका एक अनुभवी, संघर्षशील र इमानदार नेताका रूपमा चिनिँदै आएका छन्। गुन्यालफाँटामा २०६३ सालदेखि स्थायी रूपमा बसोबास गर्दै आएका रानाको राजनीतिक यात्रा करिब चार दशकअघिदेखि निरन्तर संघर्ष, जोखिम र प्रतिबद्धताले भरिएको छ।
उहाँको राजनीतिक चेतनाको सुरुवात २०४५ सालमा छिमेकी राष्ट्र भारतको मुम्बईस्थित लोहकमाने नगर प्रवासबाट भएको हो। प्रवासमा रहँदा उहाँले मजदुर, उत्पीडित र सीमान्तकृत समुदायका पक्षमा आवाज उठाउँदै राजनीति आरम्भ गर्नुभएको थियो। यही क्रममा मसाल हुँदै मोटो मसाल आन्दोलनमा सक्रिय सहभागिता जनाउँदै नेपाली एकता समाज प्रवासमार्फत संगठन निर्माण र संघर्षमा अग्रसर रहनुभयो।
२०५२ साल फागुन १ गते नेपालमा जनयुद्ध सुरु भएपछि देश र जनताको मुक्तिका लागि जीवन नै समर्पण गर्ने अठोटसहित उहाँ माओवादी आन्दोलनमा सक्रिय रूपमा होमिनुभयो। कठिनाइ, जोखिम र बलिदानको बाटो रोज्दै जनयुद्धमा सहभागी हुनु उहाँका लागि केवल राजनीतिक निर्णय मात्र नभई एउटा ऐतिहासिक जिम्मेवारी थियो।
पदम राना (बादी) ले २०५५ सालदेखि माओवादी पार्टीको जनमुक्ति सेनामा विभिन्न तह र जिम्मेवारीहरू सम्हाल्नुभएको छ। जनमुक्ति सेनाको सिपाहीबाट सुरु भएको उहाँको सैन्य–राजनीतिक जिम्मेवारी एफजेल, सेक्सन कमान्डर, प्लाटुन कमाण्डर हुँदै कम्पनी भिषिसम्म विस्तार भयो। युद्धकालमा उहाँले रोल्पा, रुकुम, जाजरकोट, सल्यान, दैलेख, गोरखा, स्याङ्जा, बाँके, बर्दिया, जनकपुरसहित हुम्ला, जुम्ला, मुगु, कालिकोट, दाङ, सुर्खेत, म्याग्दी लगायतका जिल्ला तथा पिली पूर्ण कब्जा जस्ता निर्णायक अभियानहरूमा सक्रिय सहभागिता जनाउनुभयो। सुदूरपश्चिमका सबै जिल्ला हुँदै पहाड, हिमाल र तराईका युद्ध मोर्चामा उहाँको योगदान उल्लेखनीय रह्यो।
शान्ति प्रक्रियापछि संयुक्त राष्ट्रसंघको समायोजन प्रक्रियामा सहभागी हुँदै उहाँले पुनः राजनीतिक र सामाजिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्नुभयो। कञ्चनपुर जिल्लाको जिम्मेवारी सम्हाल्दै सुदूरपश्चिम प्रदेश राज्य समिति सदस्य तथा कमिटी सदस्यका रूपमा पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण योगदान दिनुभयो।
राजनीतिक यात्रासँगै सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिँदै आउनुभएका राना बादी उत्थान समिति सुदूरपश्चिम प्रदेशको कोषाध्यक्ष हुँदै उपाध्यक्षको जिम्मेवारीसम्म पुग्नुभयो। उत्पीडित, सीमान्तकृत र बादी समुदायको हक–अधिकार, पहिचान र समग्र उत्थानका लागि उहाँले निरन्तर आवाज उठाउँदै व्यावहारिक पहल गर्दै आउनुभएको छ।
कृष्णपुर नगरपालिका अन्तर्गत समाज र समुदायका बीचमा पदम राना (बादी) लाई स्वच्छ, इमानदार र जनउत्तरदायी समाजसेवी नेताका रूपमा सम्मानपूर्वक हेरिन्छ। व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिने उहाँको छवि राजनीतिक वृत्तमा मात्र होइन, सर्वसाधारण जनतामाझ पनि बलियो छ।
यही योगदान, संघर्ष र इमानदार छविको मूल्यांकन गर्दै नेपाली कम्युनिस्ट पार्टीले कञ्चनपुर क्षेत्र नम्बर २ बाट संघीय संसदका लागि समानुपातिक सदस्यमा पदम राना (बादी) लाई सिफारिस गरेको छ। कञ्चनपुर जिल्ला कमिटीबाट यही मिति २०८२ साल पुस ११ गते औपचारिक रूपमा उहाँको नाम सिफारिस गरिएको हो।
लामो समयदेखि आन्दोलन, युद्ध, संगठन र समाजसेवामा खारिएको अनुभव बोकेका पदम राना (बादी) को संघीय संसद प्रवेशले सुदूरपश्चिम, कञ्चनपुर र विशेषगरी उत्पीडित समुदायको आवाज राष्ट्रिय तहमा थप मजबुत हुने अपेक्षा गरिएको छ।
