हेमा भट्ट पुस १२
कञ्चनपुर — कृष्णपुर नगरपालिका–२, वंकमा अवस्थित झिलिमिलि सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षणसँगै पर्यटन प्रवर्द्धनलाई जोड दिँदै वनभित्रै आकर्षक पिकनिक रिसोर्ट विकास गरेपछि यस क्षेत्र दिनप्रतिदिन आन्तरिक पर्यटकको रोजाइको गन्तव्य बन्दै गएको छ। प्राकृतिक हरियाली, स्वच्छ हावा, शान्त वातावरण र व्यवस्थित संरचनाले स्थानीय मात्र होइन, बाहिरी जिल्लाबाट आउने पर्यटकको चहलपहलसमेत बढ्दै गएको छ।


वन उपभोक्ता समूहले आफ्नै स्रोत, श्रम र लगानीमा रिसोर्ट निर्माण, खानेपानीका लागि पानी ट्यांकी जडान, बसोबास तथा विश्रामका लागि आरामदायी भवन, पिकनिक खान मिल्ने खुला स्थान र अन्य आधारभूत संरचना तयार गरेको छ। वनभित्र रहेका तीन वटा रमणीय प्राकृतिक तलाउ यस रिसोर्टका प्रमुख आकर्षण बनेका छन्। ती तलाउको मर्मत–संभार, किनार व्यवस्थित गर्ने, थप संरचना निर्माण गर्ने र माछापालनमार्फत आम्दानीको स्रोत विस्तार गर्ने योजना समेत समूहले अघि सारेको छ।


झिलिमिलि सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष करन चन्दका अनुसार, वन संरक्षण र पर्यटन विकास सँगसँगै अघि बढाउनु नै समूहको मुख्य लक्ष्य हो। उनले भने, “म स्वयं यस वनमा करिब १० वर्ष बनरक्षकको रूपमा काम गरेको अनुभव छ। अहिले अध्यक्षको जिम्मेवारीमा आएपछि वन जोगाउँदै स्थानीयलाई प्रत्यक्ष फाइदा पुग्ने पर्यटन संरचना विकासमा ध्यान दिएका छौँ। स्थानीय सरकारबाट आवश्यक सहयोग प्राप्त भएमा यहाँको सम्भावना अझ व्यापक रूपमा उपयोग गर्न सकिन्छ।”


अध्यक्ष चन्दका अनुसार आगामी दिनमा तलाउलाई थप व्यवस्थित गर्ने, बालबालिकाका लागि खेलमैदान, दृश्यावलोकन स्थल, फोटोग्राफी स्पट, सरसफाइ र सुरक्षाका संरचना थप गर्ने योजना रहेको छ। यसबाट स्थानीय रोजगारी सिर्जना, सामुदायिक आम्दानी वृद्धि र क्षेत्रीय आर्थिक गतिविधि बढाउने अपेक्षा गरिएको छ।
यो पिकनिक रिसोर्ट वाणी बजारदेखि दक्षिणतर्फ करिब १ किलोमिटर दूरीमा, सहज पहुँचयोग्य स्थानमा सामुदायिक वनभित्र अवस्थित छ। चारैतिर घना वन, बीचमा शान्त र खुला वातावरण, समूहगत पिकनिक, पारिवारिक घुमफिर, विद्यालय तथा संघ–संस्थाका भ्रमणका लागि उपयुक्त संरचनाले यस स्थानलाई विशेष बनाएको छ। वनभित्रको शान्त वातावरणले शहरको भीडभाड र प्रदूषणबाट टाढा केही समय बिताउन चाहने पर्यटकलाई लोभ्याएको स्थानीयहरूको भनाइ छ।


यस सामुदायिक वनमा कृष्णपुर नगरपालिका वडा नम्बर २ (वंक) र शुक्लाफाँटा नगरपालिका वडा नम्बर १ का उपभोक्ताहरूको संयुक्त सहभागिता रहेको छ। कार्यालय सचिव रामदत्त जोशीका अनुसार, “अहिलेसम्म सामुदायिक वनकै आम्दानी र उपभोक्ताको सक्रिय सहभागिताबाट धेरै काम सम्पन्न भएका छन्। तर यस क्षेत्रलाई व्यवस्थित र दीर्घकालीन पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न अझै धेरै पूर्वाधार आवश्यक छन्।”
उपभोक्ताहरूले सामुदायिक वनको आफ्नै लगानी र सामूहिक प्रयासबाट भइरहेको विकासप्रति खुशी व्यक्त गरेका छन्। तर आगामी चरणका कामका लागि आर्थिक स्रोत अपरिहार्य रहेको बताउँदै उनीहरूले स्थानीय सरकार, प्रदेश सरकार तथा सम्बन्धित निकायबाट सहयोगको अपेक्षा गरेका छन्।


प्राकृतिक स्रोतको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने झिलिमिलि सामुदायिक वनको यो पहललाई स्थानीय स्तरमा उदाहरणीय अभ्यासका रूपमा हेरिएको छ। सहिदको सान्दर्भिक भनाइ स्मरण गर्दै उपभोक्ताहरूले स्थानीय सरकारको सहकार्य बिना दीर्घकालीन विकास सम्भव नहुने उल्लेख गरेका छन् र आवश्यक सहयोग अवश्य प्राप्त हुनेमा आशावादी देखिएका छन्।
वन, पानी, शान्त वातावरण र सामुदायिक एकताको समन्वयबाट अघि बढिरहेको झिलिमिलि सामुदायिक वनभित्रको यो पिकनिक रिसोर्ट भविष्यमा कृष्णपुर क्षेत्रकै मात्र होइन, कञ्चनपुर जिल्लाकै प्रमुख आन्तरिक पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ।


