पिस नेपाल वंकको पहल: होलीको रकमले शिव मन्दिरदेखि पर्यटन पूर्वाधारसम्म दिगो विकास

हेमा भट्ट, पुस १३
कञ्चनपुर/कृष्णपुर — कृष्णपुर नगरपालिका क्षेत्रमा पिस नेपाल वंकको नेतृत्वमा धार्मिक, सामाजिक र पर्यटन विकासका बहुआयामिक गतिविधिहरू तीव्र गतिमा अघि बढिरहेका छन्। अध्यक्ष गजेन्द्र भण्डारीको सक्रिय नेतृत्वमा सञ्चालित यी कार्यक्रमहरूले समुदायको प्रत्यक्ष सहभागिता, स्थानीय सरकारको सहकार्य र सामुदायिक संस्थाहरूको समन्वयमा महत्वपूर्ण योगदान पुर्‍याएका छन्।

पिस नेपाल वंकले होली पर्वको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रमबाट संकलन गरिएको रकमले शिव मन्दिर निर्माणमा महत्वपूर्ण भूमिका खेलेको छ। अध्यक्ष भण्डारीका अनुसार, गत वर्ष होली खेलबाट संकलित कुल एक लाख बीस हजार रुपैयाँमध्ये पैँसठ्ठी हजार रुपैयाँ मन्दिरको जग र पिल्लर निर्माण तयारीमा खर्च गरिएको छ। बाँकी रकम गाउँघरमा आवश्यक पर्ने भाडाकुँडा, कुर्सी र अन्य सामग्री खरिदमा प्रयोग गरिएको छ।

अध्यक्ष भण्डारीले सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरूबाट उठेको रकम पारदर्शी र दीर्घकालीन लाभ हुने क्षेत्रमा खर्च गर्नुको महत्व औँल्याए। “सांस्कृतिक कार्यक्रमबाट उठेको रकम जनताको साझा सम्पत्ति हो। यसले सबैलाई अनुभूति हुने, आवश्यक र उपयोगी काममा खर्च हुनुपर्छ,” उनले भने। पिस नेपालकै पहलमा कथापूजा, धार्मिक अनुष्ठान तथा सामुदायिक कार्यक्रमहरू सञ्चालनका लागि आवश्यक भाडाकुँडा र डिजे सामग्रीको व्यवस्था गरिएको छ, जसले स्थानीयलाई निजी खर्चबाट राहत दिएको छ।

यसैबीच, नन्दीपुर सामुदायिक वन उपभोक्ता समूह (बंक) का अध्यक्ष महेन्द्ररा भण्डारीको नेतृत्वमा र स्थानीय सरकारको सहयोगमा सभाहल निर्माणका लागि पिल्लर र जगको तयारी कार्य सम्पन्न भएको छ। सभाहल निर्माणपछि विभिन्न सामाजिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रम सञ्चालनमा सहजता आउने अपेक्षा गरिएको छ। अध्यक्ष भण्डारीले आगामी दिनमा मन्दिर, सभाहल तथा अन्य संरचनाहरू पूर्ण गर्ने लक्ष्य रहेको जानकारी दिए।

स्थानीय सरकारसँगको सम्बन्धमा उनले भने, “पिस नेपाल र स्थानीय सरकारबीचको सहकार्य पछिल्लो समय अझ सुदृढ भएको छ। विशेषगरी वडा अध्यक्ष अर्जुन साउदको निरन्तर सहयोगले विकास निर्माणका काम सहज रूपमा अघि बढिरहेका छन्। स्थानीय सरकारको सकारात्मक भूमिका र जनप्रतिनिधिको सहयोग बिना यस्ता काम सम्भव हुँदैनन्।”

धार्मिक तथा सामाजिक विकाससँगै, पिस नेपाल र स्थानीय सरोकारवालाले नन्दीपुर क्षेत्रलाई आकर्षक पर्यटन गन्तव्यका रूपमा विकास गर्ने योजना अघि सारेका छन्। सिमेन्टका बेञ्च निर्माण, विश्रामस्थल विस्तार र पूर्वाधार सुदृढीकरण गर्ने कामहरू तीव्र गतिमा अघि बढिरहेको छ।

नन्दीपुर झुलङ्गे पुल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ। पुल हुँदै झिलिमिलि सामुदायिक वनसम्म पुग्ने मार्गलाई व्यवस्थित गर्दै, वन क्षेत्रमा पिकनिक स्थल, रिसोर्ट र पोखरी निर्माणका कामहरू अघि बढाइँदै छन्। अतिक्रमणबाट जोगाइएको क्षेत्रलाई थप व्यवस्थित बनाउन तारबार घेराबार, प्रवेशद्वार र बस्न मिल्ने संरचना निर्माणको तयारी भइरहेको छ।

यस सन्दर्भमा वडा अध्यक्ष अर्जुन साउदले भने, “नन्दीपुर सामुदायिक वनको विकास योजनामा स्थानीय सरकारको पूर्ण सहयोग रहनेछ। पर्यटन प्रवर्द्धनसँगै वन संरक्षण र स्थानीयको हितलाई प्राथमिकतामा राखेर योजना अघि बढाइनेछ।”

धार्मिक आस्था, सामुदायिक एकता र पर्यटन विकासलाई एउटै धारा समेट्दै अघि बढाइएका यी पहलहरूले कृष्णपुर क्षेत्रमा दिगो, समावेशी र बहुआयामिक विकासको आधार तयार गरिरहेको स्थानीयको विश्वास छ। पिस नेपालका अध्यक्ष गजेन्द्र भण्डारीको नेतृत्वमा सञ्चालित कार्यक्रमहरूले सामुदायिक सहभागिता, पारदर्शिता र स्थानीय सरकारसँगको सहकार्यलाई थप मजबुत बनाएको देखिन्छ।

विशेषगरी स्थानीयवासीहरूले भने, “पिस नेपाल वंकले हाम्रो समाजमा सकारात्मक ऊर्जा ल्याएको छ। धार्मिक, सांस्कृतिक र पर्यटन विकासको कामले यहाँको जीवनस्तर मात्र होइन, समुदायको एकता र स्थानीय पहिचानलाई पनि मजबुत बनाएको छ।”

पिस नेपाल वंकले धार्मिक स्थल, सभाहल, पिकनिक स्थल र पूर्वाधार विकासमा संकलित रकम र स्रोतको सदुपयोग गर्दै आगामी दिनमा नन्दीपुर क्षेत्रलाई सुदृढ र आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। यसरी धार्मिक आस्था, सामुदायिक सहभागिता र पर्यटन विकासलाई समन्वय गर्दै अघि बढाइएका कार्यक्रमहरूले कृष्णपुर क्षेत्रलाई दिगो र समावेशी विकासको मार्गमा अग्रसर बनाइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply