सन्त मत्ती चर्चद्वारा कृष्णपुर–७ राष्ट्रिय माविमा शैक्षिक सहयोग कार्यक्रम सम्पन्न

हेमा भट्ट पुस १४
कञ्चनपुर — कृष्णपुर नगरपालिका–७, कलुवापुरस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयमा सन्त मत्ती बिलिभर्स इस्टर्न चर्चले आर्थिक रूपमा कमजोर र अनाथ बालबालिकालाई लक्षित गर्दै शैक्षिक सहयोग कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रमअन्तर्गत कक्षा १–५ का १२० विद्यार्थीलाई दुई थान कापी र तीन थान पेन्सिल वितरण गरिएको थियो।

सोमबार, पौष १४ गते सम्पन्न कार्यक्रममा वडा अध्यक्ष घुम्मन राना प्रमुख अतिथि थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष शुरेन्द्र धामी गुराँसले सभापतित्व गरे। वडा अध्यक्ष रानाले शिक्षा समाजको आधारभूत विकासको मूल आधार भएको बताउँदै समुदाय र संस्थाको सहकार्य अपरिहार्य रहेको बताए।

चर्चका डिकन फादर नरेन्द्र कुँवरले शिक्षा, स्वास्थ्य, सरसफाइ र मानवसेवा क्षेत्रमा निरन्तर योगदानको जानकारी दिँदै भने, “सानो सहयोगले पनि बालबालिकाको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्छ। शिक्षा नै समाज परिवर्तनको आधार हो।” कार्यक्रममा चार थान डस्टबिन वितरण पनि गरिएको थियो, जसले विद्यालय परिसरलाई सफा र वातावरणमैत्री बनाउने सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा विद्यार्थीहरू उत्साहित देखिए। सहयोग प्राप्त गर्दै उनीहरूले अध्ययनप्रतिको नयाँ ऊर्जा अनुभव गरे भने अभिभावकहरूले पनि खुशी व्यक्त गरे। स्थानीय समाजसेवी र धार्मिक अगुवाहरूले यस पहललाई सराहना गर्दै समाजमा साझा उत्तरदायित्व र सहकार्यको महत्व जोड दिए।

विद्यालय परिवारले आयोजक चर्च र सहयोगीहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा यस्तै सहकार्य निरन्तर रहने अपेक्षा व्यक्त गरेको छ। यस पहलले विद्यार्थीहरूको आत्मविश्वास, अनुशासन र सामाजिक उत्तरदायित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply