कञ्चनपुर–२ बाट दुर्गा जोशी भट्ट प्रतिनिधिसभा सिफारिस

हेमा भट्ट, पुस १७
कञ्चनपुर — बदलिँदो राजनीतिक परिवेश, जनअपेक्षा र विशेषतः युवाहरूको भूमिकालाई केन्द्रमा राख्दै प्रतिनिधिसभा सदस्य पदका लागि कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट दुर्गा जोशी भट्ट सिफारिस हुनुभएको छ। अनेम संघ (क्रान्तिकारी) सुदूरपश्चिम प्रदेश सहसचिव कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारी सञ्चालक समिति सदस्य तथा जानकी महिला मध्यवर्ती सामुदायिक वन समितिकी अध्यक्षसमेत रहनुभएकी भट्टलाई पार्टीले संघर्षशील, योजनाबद्ध र जनमुखी नेतृत्वको रूपमा अघि सारेको हो।

भट्टले यसअघि तत्कालीन माओवादी केन्द्र शुक्लाफाटा नगर सह–इन्चार्जको जिम्मेवारी निर्वाह गर्दै संगठन निर्माण, महिला सशक्तीकरण, जनआन्दोलन र सामाजिक न्यायका सवालमा सक्रिय भूमिका खेल्दै आउनुभएको छ। दुरदराजका गाउँबस्तीबाट उठेको विद्रोही चेतना बोकेर राजनीतिमा होमिनुभएकी उहाँ जनताको वास्तविक समस्या बुझ्ने र त्यसको समाधानका लागि स्पष्ट योजना र रणनीति निर्माण गर्न सक्ने नेतृका रूपमा चिनिनुहुन्छ।

युवालाई केन्द्रमा राखेको विकास दृष्टिकोण – भट्टको राजनीतिक यात्राको मूल केन्द्रमा युवा पुस्ता रहेको देखिन्छ। वैदेशिक रोजगारीमा जान बाध्य युवाहरू, शिक्षित बेरोजगार, सीप र अवसरको अभाव झेलिरहेका नवपुस्तालाई देशमै सम्भावना सिर्जना गर्नुपर्ने उहाँको धारणा छ। प्रतिनिधिसभामा पुग्ने अवसर पाएमा स्थानीय स्रोत, कृषि, पर्यटन, साना उद्यम र सहकारी प्रणालीमार्फत युवालाई आत्मनिर्भर बनाउने नीति अघि सार्ने उहाँको योजना छ।

“युवाहरू केवल मतदाता होइनन्, राष्ट्र निर्माणका कर्णधार हुन्” भन्ने मान्यतासहित भट्टले शिक्षा, सीपमूलक तालिम र रोजगारीलाई जोड्ने दीर्घकालीन रणनीति आवश्यक रहेको बताउँदै आउनुभएको छ। यसका लागि संघीय सरकारमार्फत कञ्चनपुर–२ लाई लक्षित विशेष युवा उद्यम कार्यक्रम ल्याउने तयारी उहाँको एजेन्डामा रहेको बताइन्छ।

महिला, दलित र सीमान्तकृत समुदायको आवाज – लामो समयदेखि महिला आन्दोलनमा सक्रिय भट्टले महिलाको नेतृत्व विकास, आर्थिक सशक्तीकरण र निर्णय प्रक्रियामा प्रभावकारी सहभागितालाई प्राथमिकतामा राख्नुभएको छ। दलित, थारु, मुस्लिम, पिछडिएका वर्ग र सीमान्तकृत समुदायको आवाज संसदसम्म पुर्‍याउने उहाँको प्रतिबद्धता रहेको छ।

जनआन्दोलनको अनुभूति, संसदमा जनताको आवाज- दुरदराजबाट उठेको संघर्षको राजनीतिले खारिएको नेतृत्व भएकाले भट्टको सिफारिसलाई केवल उम्मेदवारीको विषय नभई जनआन्दोलन, संघर्षशील नेतृत्व र जनशक्तिको जितका रूपमा हेरिएको छ। योजनाबद्ध विकास, रणनीतिक सोच र युवाको सक्रिय सहभागितामार्फत कञ्चनपुर–२ लाई समृद्धिको बाटोमा अघि बढाउने उहाँको दृष्टिकोणले स्थानीय तहमा सकारात्मक सन्देश दिएको छ।

पार्टीभित्र तथा जनस्तरबाट प्राप्त समर्थनले दुर्गा जोशी भट्टलाई कञ्चनपुर–२ मा आशालाग्दो नेतृत्वको रूपमा स्थापित गराउँदै लगेको छ। अबको राजनीतिक यात्रामा उहाँ संसदमा पुगेर जनताको हक, अधिकार र आवाजलाई प्रभावकारी रूपमा उठाउने विश्वास गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply