हेमा भट्ट पुस १८
धनगढी — आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै उज्यालो नेपाल पार्टीले कैलाली जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको नामावली सार्वजनिक गरेको छ। पार्टीले जनमुखी राजनीति, सुशासन र समावेशी विकासलाई मूल एजेन्डा बनाएर स्थानीय स्तरमा पहिचान बनाएका व्यक्तिहरूलाई उम्मेदवारको रूपमा अघि सारेको जनाएको छ।
पार्टीका केन्द्रीय सदस्य मनोज लुहारका अनुसार कैलाली जिल्लालाई संगठनात्मक रूपमा थप मजबुत बनाउँदै जनताको भरोसा जित्न सक्ने नेतृत्व चयन गरिएको हो। “कैलाली राजनीतिक, सामाजिक र आर्थिक दृष्टिले महत्वपूर्ण जिल्ला हो। यहाँका जनसमस्या संसदसम्म पुर्याउन सक्ने क्षमतावान उम्मेदवारलाई अघि सारेका छौँ,” उनले बताए।
पार्टीले सार्वजनिक गरेको विवरणअनुसार कैलाली निर्वाचन क्षेत्र नम्बर १बाट प्रदिप चौधरी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। उनी लामो समयदेखि सामाजिक अभियान र स्थानीय विकासका कार्यक्रममा सक्रिय रहँदै आएका छन्।
त्यस्तै, निर्वाचन क्षेत्र नम्बर २बाट भक्त चलाउने उम्मेदवार रहेका छन्। चलाउनेले युवामैत्री नीति, रोजगारी र सुशासनलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन्।
कैलाली क्षेत्र नम्बर ३बाट पार्टीका केन्द्रीय सदस्य मनोज लुहार (जैगडी) र जगत जोशी उम्मेदवार रहेका छन्। यस क्षेत्रमा पार्टीले सशक्त प्रतिस्पर्धा गर्ने तयारी गरेको बताइएको छ। दुवै उम्मेदवार संगठन निर्माण र जनआन्दोलनमा सक्रिय रहँदै आएका व्यक्तित्व हुन्।
यसैगरी कैलाली निर्वाचन क्षेत्र नम्बर ४बाट शुभाष कुंवर तथा क्षेत्र नम्बर ५बाट क्षितिज भण्डारी प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका छन्। कुंवर र भण्डारी दुवै स्थानीय तहमा परिचित नाम मानिन्छन् र जनसेवामुखी गतिविधिमा संलग्न रहँदै आएका छन्।
उज्यालो नेपाल पार्टीले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी सिर्जना, भ्रष्टाचार नियन्त्रण तथा सामाजिक न्यायलाई चुनावी घोषणापत्रका प्रमुख आधार बनाएको छ। पार्टीका अनुसार कैलालीका ग्रामीण तथा शहरी दुवै क्षेत्रका जनसमस्यालाई समान प्राथमिकतामा राखेर नीति निर्माण गरिनेछ।
पार्टीले उम्मेदवार घोषणा भएसँगै जिल्लाभर संगठन विस्तार, घरदैलो कार्यक्रम, जनसंवाद तथा चुनावी सभा–समारोहलाई तीव्र बनाउने तयारी गरेको जनाएको छ। स्थानीय कार्यकर्ताहरूमा उत्साह बढेको र आगामी निर्वाचनमा उल्लेखनीय मत परिणाम आउने पार्टी नेतृत्वको दाबी छ।
