पुनर्वास सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा सम्पन्न

धनबहादुर बिक
पुनर्वास, २० पुस

जिल्लाकै अग्रणी सहकारीका रूपमा परिचित पुनर्वास सहकारी संस्था लिमिटेडको ३३औँ वार्षिक साधारणसभा विविध कार्यक्रमका साथ सम्पन्न भएको छ। “मर्यादित सहकारी, समुन्नत समाज” भन्ने मूल नारासहित संस्थाको प्राङ्गणमा साधारणसभा आयोजना गरिएको हो।

कार्यक्रममा संस्थाका व्यवस्थापक एककुमार श्रेष्ठले आर्थिक वर्ष ०८१/०८२ को स्वीकृत ८ करोड ६७ लाख ८४ हजार रुपैयाँमध्ये वास्तविक आम्दानी–खर्च ७ करोड ३५ लाख ७ हजार ८६३ रुपैयाँ रहेको विवरण प्रस्तुत गर्नुभयो। साथै उहाँले आर्थिक वर्ष ०८२/०८३ का लागि संशोधित ९ करोड १२ लाख ३३ हजार ५०० रुपैयाँ तथा प्रस्तावित ९ करोड ९१ लाख रुपैयाँ बराबरको आय–व्यय विवरण पनि प्रस्तुत गर्नुभयो।

कार्यक्रमका प्रमुख अतिथि तथा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्माले सहकारीको निरन्तर प्रगतिप्रति शुभकामना व्यक्त गर्नुभयो। उहाँले सहकारी परिसरभित्र निर्माणाधीन ५०० मेट्रिक टन क्षमताको शीत भण्डार निर्माणमा ठेकेदार कम्पनीले ढिलासुस्ती गरेको भन्दै नगरपालिका तर्फबाट शीघ्र काम सम्पन्न गर्न लिखित पत्राचार गरिसकिएको जानकारी दिनुभयो।

शीत भण्डार निर्माणका लागि काठमाडौँस्थित जुगल बिल्डर्सले मिति २०८० असार २४ गते पुनर्वास नगरपालिकासँग सम्झौता गरी २०८२ असार २४ गतेभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाएको थियो। प्रारम्भमा तीव्र गतिमा काम भए पनि गत वर्षदेखि निर्माण कार्य अलपत्र पारी कम्पनी सम्पर्कविहीन भएको सहकारी सञ्चालक समितिले गुनासो गरेको छ।

नगर प्रमुख शर्माले पुनर्वासमा सञ्चालित सहकारीहरूलाई थप व्यवस्थित बनाउन नगरपालिका स्तरबाट छिट्टै सहकारी ऐन ल्याउने तयारी भइरहेको जानकारी दिनुभयो।

कार्यक्रममा वक्ताहरूले जिल्लाकै पुरानो सहकारी संस्थाका रूपमा रहेको पुनर्वास सहकारीलाई अझ व्यवस्थित र दिगो रूपमा अघि बढाउन सुझाव दिएका थिए।

साधारणसभाका अवसरमा पूर्वनिर्णयअनुसार सेयर पूँजी वृद्धि गरी कारोबार गर्ने ५ जना सेयर सदस्यलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो। यसैगरी दैनिक, आवधिक, सामूहिक बचत, ऋण, गुणस्तरीय दूध बिक्री, सेयर पूँजी वृद्धि तथा ज्येष्ठ नागरिक गरी विभिन्न विधामा २२ जना सदस्यलाई सम्मान गरिएको थियो।

संस्थाको ऐतिहासिक पृष्ठभूमि तथा लेखा प्रतिवेदन लेखा संयोजक रामचन्द्र भट्टराईले प्रस्तुत गर्नुभयो। प्रतिवेदनमा सहकारीले मूल्य, मान्यता र सिद्धान्तको पालना गर्दै सदस्य केन्द्रित कार्यक्रममार्फत सदस्यहरूको आर्थिक तथा सामाजिक स्तर उकास्न निरन्तर प्रयास गर्दै आएको उल्लेख गरिएको छ।

सहकारीले सञ्चालन गर्दै आएको दुग्ध चिस्यान केन्द्रलाई अझ दिगो बनाउन नियमित दूध आपूर्ति वृद्धि तथा सदस्य कृषकलाई आवश्यक परामर्श दिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए।

संस्थाको कार्यक्षेत्र पुनर्वास नगरपालिका–६ र शाखा कार्यालय लालझाडी गाउँपालिका–१ रहेको छ। हाल संस्थामा ४ सय ६६ जना सेयर सदस्य आबद्ध छन्। तत्कालीन साझा ऐनअनुसार मिति २०३३ असोज २६ गते जिल्ला सहकारी कार्यालय कञ्चनपुरमा दर्ता भई स्थापना भएको यो सहकारी सुदूरपश्चिम प्रदेशकै पुरानो सहकारीका रूपमा निरन्तर सञ्चालनमा रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ।

संस्थाका अध्यक्ष भरतबहादुर बिष्टको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथिका रूपमा वडा नम्बर ६ का वडा अध्यक्ष मित्र सिंह लामा र निवर्तमान नगर प्रमुख जीवनराज थापा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा सहकारीकर्मी, समाजसेवी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमको सुरुवात उपाध्यक्ष राजन श्रेष्ठको स्वागत मन्तव्यबाट गरिएको थियो भने सञ्चालन व्यवस्थापक एककुमार श्रेष्ठले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply