सुदूरपश्चिमको दोस्रो पञ्चवर्षीय योजना मस्यौदामाथि धनगढीमा गहन छलफल

पुष २०, कैलाली।
आर्थिक वर्ष २०८३/०८४ देखि २०८७/०८८ सम्मलाई लक्षित गर्दै सुदूरपश्चिम प्रदेश सरकारले तयार पारेको दोस्रो पञ्चवर्षीय योजनाको मस्यौदा अवधारणापत्रमाथि आइतबार धनगढीमा विस्तृत छलफल गरिएको छ।

प्रदेशको दीर्घकालीन विकासका लागि स्पष्ट दिशा तय गर्ने उद्देश्यसहित सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगको आयोजनामा कार्यक्रम सम्पन्न भएको हो। मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा भएको छलफल कार्यक्रममा आयोगका उपाध्यक्ष डा. जीवन रानाले योजनाको मस्यौदा सार्वजनिक गर्नुभयो।

कार्यक्रममा योजनाको मस्यौदा निर्माण टोलीका नेतृत्वकर्ता डा. हेमराज लामिछानेले समृद्ध, समावेशी र दिगो प्रदेश निर्माणका लागि नीतिगत तथा कार्यक्रमगत मार्गचित्रसहित अवधारणापत्र प्रस्तुत गर्नुभयो। उहाँले सुशासन, समावेशी विकास र दिगो विकास लक्ष्य (SDGs) हासिल गर्ने दिशामा योजनाले स्पष्ट खाका कोरेको उल्लेख गर्नुभयो।

छलफलमा सामाजिक विकास मन्त्री मेघराज खड्का, राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम, प्रमुख सचिव वैकुण्ठप्रसाद अर्याल, प्रदेश सचिव विमलप्रसाद बराललगायतले विचार राख्दै लगानीमैत्री आर्थिक वृद्धि, कृषि र ग्रामीण अर्थतन्त्रको रूपान्तरण, उद्योग तथा रोजगारी, पर्यटन प्रवर्द्धन, शिक्षा–स्वास्थ्य सुधार, पूर्वाधार र ऊर्जा विकास, वन–वातावरण संरक्षण, जलवायु परिवर्तन तथा विपद् व्यवस्थापन, सुशासन र संस्थागत क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले दीर्घकालीन लक्ष्य केन्द्रित योजनाबिनाको विकास सम्भव नहुने स्पष्ट पार्नुभयो। सीमित स्रोत–साधनको यथार्थलाई स्वीकार गर्दै प्राथमिकताका आधारमा प्रभावकारी योजना कार्यान्वयन गर्नुपर्ने उहाँको भनाइ थियो।
उहाँले नागरिकको जीवनस्तरमा प्रत्यक्ष सुधार ल्याउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै सुशासन, पारदर्शिता र उत्तरदायित्व विकासको आधारस्तम्भ भएको बताउनुभयो।

मुख्यमन्त्री शाहले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय, निजी क्षेत्रको सहभागिता र जनताको सक्रिय योगदानबाट मात्रै प्रदेशको दीर्घकालीन विकास लक्ष्य हासिल गर्न सकिनेमा जोड दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply