धनबहादुर बिक, २५ पुस
कञ्चनपुर – किसान जागरण बहुमुखी सहकारी संस्था लिमिटेडको २४औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। शुक्रबार पुनर्वास नगरपालिका–६, प्रगतिटोलस्थित संस्थाको आफ्नै भवनमा साधारणसभा आयोजना गरिएको हो।
उन्नत बीउ उत्पादनमार्फत कृषकको अभाव पूर्ति गर्ने उद्देश्यले तत्कालीन त्रिभुवनबस्ती, परासन, कालिका र वाइसिबिचवा गाविसलाई कार्यक्षेत्र बनाई पुनर्वासका २६ जना कृषकको सहकार्यमा २०५६ साल चैत १७ गते कञ्चनपुरमा सहकारीका रूपमा दर्ता भई संस्थाले उन्नत बीउ–बीजन उत्पादन क्षेत्रमा निरन्तर काम गर्दै आएको छ।

साधारणसभामा संस्थाका अध्यक्ष पर्शुराम विश्वकर्माले प्रस्तुत गरेको प्रतिवेदनअनुसार, २०५५ सालदेखि केही कृषकको अगुवाइमा सामूहिक रूपमा आलुको बीउ उत्पादन सुरु गरिएको थियो। साथै, संस्थाले उत्पादन गरेको १०४ क्विन्टल प्रमाणित पहिलो पुस्ताको उन्नत गहुँको बीउ २०५८ सालमै कृषकको खेतसम्म पुर्याउन सफल भएको उल्लेख गरिएको छ।
हाल संस्थासँग आफ्नै बीउ भण्डारण गोदाम र बीउ ग्रेडिङ मेसिनसहित १ करोड १७ लाख ९३ हजार ९३२ रुपैयाँ बराबरको स्थिर सम्पत्ति रहेको जनाइएको छ। ११४ जना सेयर सदस्य रहेको संस्थाको सेयर पूँजी ७६ लाख ६७ हजार ४०० रुपैयाँ रहेको छ। यस्तै, निक्षेप ६ लाख २३ हजार, कर्जा सापटी २३ लाख १ हजार ८४२ रुपैयाँ, शुद्ध नाफा १३ लाख ४० हजार २३२ रुपैयाँ, नगद मौज्दात २५ हजार ३३७ रुपैयाँ र बैंक मौज्दात ३७ लाख ७७ हजार २५७ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ।

संस्थाले राष्ट्रिय आवास कम्पनीको नाममा रहेको पुनर्वासको ६५ बिघामध्ये २० बिघा जग्गा वार्षिक ९ लाख ५१ हजार रुपैयाँमा भाडामा लिएर कृषि उत्पादन गर्दै आएको छ। सोमध्ये ५ बिघा १० कठ्ठामा धान खेती गरी १३१ क्विन्टल ६० किलो, सोही क्षेत्रफलमा भटमास खेतीबाट ५५ क्विन्टल २३ किलो, २ बिघा ५ कठ्ठामा ट्युसेन्टी खेतीबाट ८८० किलो तथा २ बिघामा तिल खेतीबाट ८ क्विन्टल ३२ किलो उत्पादन गर्न सफल भएको जनाएको छ।

कार्यक्रममा संस्थाका सचिव अरि प्रसाद अधिकारीले आर्थिक वर्ष २०८१ साउन १ देखि २०८२ असार मसान्तसम्मको १ करोड ३३ लाख ८४ हजार ६१ रुपैयाँ ३७ पैसाको आय–व्यय विवरण प्रस्तुत गरेका थिए।
अध्यक्ष पर्शुराम विश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा निवर्तमान प्रतिनिधिसभा सदस्य माननीय तारालामा तामाङ प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा पुनर्वास नगरपालिका सहकारी शाखा प्रमुख तथा प्रशासन अधिकृत धौलराम सार्की, कृषि अधिकृत ललिता चौधरी, विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको सञ्चालन संस्थाका सचिव छबिलाल खनियाले गरेका थिए।
