मलामीबाट फर्किँदै गर्दा मृत्युको अर्को यात्रा, कुयापानी दुर्घटनाले गाउँ शोकाकुल

पुस २६
डडेल्धुरा — शोकले थलिएको गाउँले अझै आँसु पुछ्न नपाउँदै अर्को पीडादायी खबरले परशुराम नगरपालिका–९ कुयापानी क्षेत्र फेरि स्तब्ध बनेको छ। शुक्रबारको शोक शनिबार झनै गहिरो बनाउँदै ट्रयाक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको ज्यान गएको छ।

दुर्घटनामा परशुराम नगरपालिका–१२ का अन्दाजी २७ वर्षीय नवीन साउँद र जोगबुढास्थित ग्रीन भ्याली इङ्लिस बोर्डिङ स्कुलका ३५ वर्षीय शिक्षक मानबहादुर जाग्रीको घटनास्थलमै मृत्यु भयो। जीवन र भविष्यका सपना बोकेका दुवै युवा एकै क्षणमा कालको सिकार बने।

प्रहरीका अनुसार जोगबुढाबाट गाइबाधेतर्फ जाँदै गरेको से २ त ७४७४ नम्बरको ट्रयाक्टर र गाइबाधेबाट जोगबुढातर्फ आउँदै गरेको म १ प ९९७३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनाको पृष्ठभूमि झनै पीडादायी छ। ट्रयाक्टरमा सवार व्यक्तिहरू शुक्रबार महाकाली नदीमा डुबेर ज्यान गुमाएका परशुराम नगरपालिका–९ कै इन्द्रबहादुर बोहराको अन्त्येष्टि सकेर मलामी फर्किँदै थिए। केही दिनअघि सोही गाउँमा अर्का एक व्यक्तिको मृत्यु भएको, र त्यसैको अन्त्येष्टिमा सहभागी इन्द्रबहादुर बोहराको पनि शुक्रबार नदीमा डुबेर ज्यान गएको घटनाले गाउँ पहिले नै शोकमा थियो।

शनिबार इन्द्रबहादुर बोहराको पोस्टमार्टमपछि पुनः अन्त्येष्टि सम्पन्न गरी मलामी फर्कँदै गर्दा फेरि अर्को भयावह दुर्घटना भएपछि गाउँमा शोकको सीमा नै रहेन। एकपछि अर्को मृत्युले स्थानीयवासीहरू अवाक् र स्तब्ध बनेका छन्।

दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले घाइतेहरूलाई तत्काल जोगबुढा अस्पताल पुर्‍याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

लगातार घटिरहेका यस्ता दुःखद घटनाले कुयापानी क्षेत्र अहिले शोक, त्रास र मौन पीडाले ढाकिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply