वसन्त वन बाटीका महिला सामुदायिक वनको नेतृत्व राधा पनेरू शर्मालाई

हेमा भट्ट, पुस २६
कञ्चनपुर, कृष्णपुर — कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थित श्री वसन्त वन बाटीका महिला सामुदायिक वन उपभोक्ता समूहको ९औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। साधारणसभाबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको छ।
साधारणसभाबाट अध्यक्ष पदमा राधा पनेरू शर्मा, उपाध्यक्षमा बबिता बलायर (एइडी), कोषाध्यक्षमा लक्ष्मी बलायर, सचिवमा चित्रा भण्डारी चयन हुनुभएको छ। अन्य सदस्यसहित ९ सदस्यीय कार्यसमिति गठन गरिएको छ।
कार्यक्रममा कृष्णपुर–९ का वडा अध्यक्ष कैलाश बलायर प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो भने पार्वती महराले अध्यक्षता गर्नुभयो। प्रमुख अतिथिद्वारा दियो बालि र ब्यानर वाचन गर्दै औपचारिक उद्घाटन गरिएको थियो।

वडा अध्यक्ष बलायरले महिला सामुदायिक वन उपभोक्ता समूहले वन संरक्षण, वातावरणीय सन्तुलन र महिलाको नेतृत्व विकासमा पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो। उहाँले नव निर्वाचित समिति सदस्यलाई बधाई दिँदै स्थानीय सरकारको सहयोग र स्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको विशेष क्षणमा प्रमुख अतिथिद्वारा नव निर्वाचित समिति सदस्यहरूलाई टीका र सम्मान प्रदान गरियो। वन व्यवस्थापन, सामुदायिक सहभागिता, आयआर्जन कार्यक्रम र संस्थागत सुदृढीकरणका विषयमा पनि सुझाव र सहकार्यको चर्चा भयो।
कार्यक्रम शिक्षक तथा समाजसेवी चन्द्र बहादुर महराले सञ्चालन गर्नुभयो।
नव निर्वाचित अध्यक्ष राधा पनेरू शर्माले समूहलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्दै वन संरक्षण, महिलाको क्षमता अभिवृद्धि र सामुदायिक विकासका कार्यक्रमलाई प्राथमिकतामा राखेर अघि बढाउने बताउनुभयो।

साधारणसभामा उपभोक्ता सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले समूहले हासिल गरेका उपलब्धिहरूको समीक्षा गर्दै आगामी कार्ययोजना, चुनौती र अवसरबारे खुलेर छलफल गरे।
समग्रमा कार्यक्रम उत्साहपूर्ण, अनुशासित र सकारात्मक सन्देशसहित सम्पन्न भएको सहभागीहरूको भनाइ रहेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply