हरियाली सामुदायिक वनमा नेतृत्व निरन्तरता नित्यानन्द जेठारा पुनः अध्यक्षमा सर्वसम्मत चयन

हेमा भट्ट, पुस २९,
कञ्चनपुर- कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा अवस्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहले अनुभवी, विश्वासिलो र परिणाममुखी नेतृत्वलाई निरन्तरता दिएको छ। समूहको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गर्दै अध्यक्ष नित्यानन्द जेठारालाई दोस्रो कार्यकालका लागि पुनः अध्यक्षमा चयन गरिएको हो। उपभोक्ताहरूको व्यापक सहभागिता, आपसी सहमति र भरोसाका साथ गरिएको यस निर्णयलाई सामुदायिक वनको दिगो विकासतर्फको महत्वपूर्ण कदमका रूपमा लिइएको छ।

२०८२ साल पुस २८ गते सम्पन्न समूहको १९औँ वार्षिक साधारणसभासँगै पाँच वर्षे कार्यकाल पूरा भएपछि विधानअनुसार पुरानो कार्यसमिति स्वतः खारेज गरिएको थियो। साधारणसभामा नयाँ कार्यसमिति चयनका लागि छलफल र परामर्श भए पनि तत्काल सर्वसम्मति कायम हुन नसक्दा अर्को दिन अर्थात् पुस २९ गते उपभोक्ताहरूको विशेष बैठक बोलाई निर्णय गरिएको समूहले जनाएको छ। उक्त बैठकबाट उपभोक्ताहरूको साझा मत र आग्रहअनुसार नित्यानन्द जेठारालाई पुनः अध्यक्षमा चयन गरिएको हो।

नवगठित कार्यसमितिमा अध्यक्ष बाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरूमा नयाँ अनुहार समेटिएको छ। समूहले नेतृत्वमा निरन्तरता र व्यवस्थापनमा नवीनता दुवैलाई सन्तुलनमा राख्दै कार्यसमिति गठन गरेको जनाएको छ। नवगठित कार्यसमितिमा

उपाध्यक्ष यशोदा शाह,सचिव छाया नेपाली,
सह–सचिव राकेश वोहरा,कोषाध्यक्ष हरिष शाह चयन हुनुभएको छ। त्यसैगरी सदस्यहरूमा मुलचन्द राना, दलिया राना, राधिका धानुक, झनक बहादुर देउवा, सीता बोगटी, गोपाल दत्त भट्ट, कमला थापा, निर्मला भण्डारी लगायत रहनुभएको छ।

अध्यक्ष नित्यानन्द जेठारा सामुदायिक वन संरक्षण, व्यवस्थापन तथा उपभोक्तामैत्री सञ्चालनमा अनुभवी नेतृत्वका रूपमा परिचित हुनुहुन्छ। उहाँको अघिल्लो कार्यकालमा वन अतिक्रमण नियन्त्रण, वृक्षारोपण, आगलागी नियन्त्रण, अवैध कटानी रोकथाम तथा वन स्रोतको वैज्ञानिक उपयोगमा उल्लेखनीय काम भएको उपभोक्ताहरू बताउँछन्। साथै, आम उपभोक्ताको सहभागितामा योजना निर्माण, निर्णय प्रक्रियामा पारदर्शिता र आर्थिक अनुशासन कायम गरिनुले समूहप्रति जनविश्वास थप मजबुत भएको छ।

समूहका उपभोक्ताहरूका अनुसार अध्यक्ष जेठाराको नेतृत्वमा सामुदायिक वनले संरक्षणसँगै आयआर्जनका कार्यक्रम, सामाजिक उत्तरदायित्व र वातावरणीय सन्तुलनलाई समान रूपमा अघि बढाएको छ। यसले वन र समुदायबीचको सम्बन्ध अझ सुदृढ बनाएको उनीहरूको भनाइ छ। यही निरन्तर प्रयास र सकारात्मक परिणामका कारण उहाँ पुनः अध्यक्षमा चयन हुन सफल हुनुभएको हो।

पुनः जिम्मेवारी पाएपछि अध्यक्ष जेठाराले सामुदायिक वनलाई अझ व्यवस्थित, हराभरा र दिगो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले वन संरक्षणसँगै उपभोक्ताको क्षमता अभिवृद्धि, रोजगारी सिर्जना, पारदर्शी आर्थिक व्यवस्थापन र भावी पुस्ताका लागि वन स्रोत सुरक्षित राख्ने लक्ष्यका साथ काम गर्ने बताउनुभएको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ का उपभोक्ताहरू आबद्ध रहेको हरियाली सामुदायिक वन पूर्व–पश्चिम राजमार्गसँग जोडिएको रणनीतिक महत्वको वन क्षेत्र हो। ‘हरियाली’ नामझैं हरियालीले ढकमक्क बनेको यस वन क्षेत्रमा पछिल्ला वर्षहरूमा संरक्षण र व्यवस्थापनमा निरन्तर सुधार देखिँदै आएको छ। नयाँ कार्यसमितिको नेतृत्वमा यस वनलाई जिल्लाकै उदाहरणीय सामुदायिक वनका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply