हेमा भट्ट
पुस २९, कञ्चनपुर
कञ्चनपुर जिल्लास्थित शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घको पाँचौँ अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ। अधिवेशनले महासचिव पदमा दिपक राज भट्टलाई सर्वसम्मत रूपमा चयन गरेको छ। लामो समयदेखि व्यवसायिक क्षेत्रको विकास, संगठन सुदृढीकरण तथा उद्यमी–व्यापारीहरूको हकहितका सवालमा निरन्तर सक्रिय रहँदै आउनुभएका भट्टको नेतृत्व क्षमतालाई कदर गर्दै अधिवेशनले सर्वसम्मत निर्णय गरेको हो।
व्यवसायिक क्षेत्रप्रति देखाउनुभएको निष्ठा, संगठनप्रतिको समर्पण र जिम्मेवारीबोधकै परिणामस्वरूप महासचिवजस्तो महत्वपूर्ण पदमा भट्टको चयन भएको सहभागीहरूको भनाइ छ। उहाँप्रति गरिएको यो विश्वास र सम्मानले शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घभित्र उहाँको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
नवनिर्वाचित महासचिव भट्टले उद्योग–व्यवसायको प्रवर्द्धन, स्थानीय उद्यमशीलताको संरक्षण, व्यापारीहरूको समस्या पहिचान र समाधान तथा निजी क्षेत्रको आवाजलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। साथै, शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घमार्फत निजी क्षेत्र र स्थानीय सरकारबीच सहकार्य विस्तार गर्दै आर्थिक गतिविधिलाई थप चलायमान बनाउने, रोजगारी सिर्जनामा योगदान पुर्याउने र संगठनलाई अझ मजबुत बनाउने दिशामा काम गर्ने विश्वास व्यक्त गरिएको छ।
अधिवेशनमा सहभागी उद्योगी–व्यापारीहरूले महासचिव भट्टको कार्यकाल सफल, परिणाममुखी र उदाहरणीय रहने अपेक्षा गर्दै शुभकामना व्यक्त गरेका छन्। समाज, व्यवसाय र संगठनको समग्र हितका लागि उहाँको नेतृत्व प्रेरणादायी रहने विश्वासका साथ नवनिर्वाचित महासचिव दिपक राज भट्टलाई पुनः हार्दिक बधाई तथा सफल कार्यकालको शुभेच्छा व्यक्त गरिएको छ।
