पुनर्वास नगरपालिकाको १८औँ नगरसभा सम्पन्न धनबहादुर बिक

पुनर्वास, पुस ३०
पुनर्वास नगरपालिकाको १८औँ नगरसभा तथा हिउँदे अधिवेशन विविध कार्यक्रमसहित बुधबार सम्पन्न भएको छ। नगरपालिकाकै सभाहलमा आयोजित उक्त नगरसभाको उद्घाटन नगर प्रमुख तोयप्रसाद शर्माले गर्नुभएको हो।

नगरसभालाई सम्बोधन गर्दै नगर प्रमुख शर्माले गत भदौ २३ र २४ गते सम्पन्न ‘जेन–जी आन्दोलन’का क्रममा नगरपालिकामा भएको तोडफोड, आगजनी र लुटपाटका कारण कार्यालयका अधिकांश कामकाज अस्तव्यस्त बनेको उल्लेख गर्नुभयो। ती घटनापछि नगरपालिकाले आफ्ना सेवा तथा प्रशासनिक गतिविधि शून्य अवस्थाबाट पुनः सुरु गर्नुपरेको उहाँको भनाइ थियो।
आगजनी तथा तोडफोडबाट भएको क्षतिका कारण कार्यालयको दैनिक सेवा प्रवाह प्रभावित भएको र अपेक्षित रूपमा काम अघि बढाउन कठिनाइ भएको नगर प्रमुख शर्माले आफ्नो प्रतिवेदनमा उल्लेख गर्नुभयो। वर्तमान देशको विषम परिस्थितिमा जनप्रतिनिधिले सबै चुनौतीको सामना गर्दै परिवर्तनलाई आत्मसात गरी अघि बढ्नुपर्ने आवश्यकता रहेको उहाँले जोड दिनुभयो।
नगर प्रमुख शर्माले आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाबाट भएको क्षतिले दैनिक प्रशासनिक कार्यमा पारेको असरलाई क्रमशः न्यूनीकरण गर्दै सेवा प्रवाहलाई निरन्तरता दिन जनप्रतिनिधि तथा कर्मचारीहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो।

१८औँ नगरसभामा चालु आर्थिक वर्षको पुस मसान्तसम्मको आय–व्यय विवरण प्रस्तुत गरिएको थियो। विवरणअनुसार चालुगत खर्चतर्फ ८५ करोड ५१ लाख ७९ हजार ०६१ रुपैयाँ र पूँजीगत खर्चतर्फ १६ करोड ७४ लाख १६ हजार ५६१ रुपैयाँ बराबरको खर्च भएको जानकारी गराइएको छ।

नगरसभाको अवसरमा जेन–जी आन्दोलनपछि पुनर्वास नगरपालिकाको सेवा प्रवाह पुनः सञ्चालनमा सहयोग पुर्‍याउने १५ वटा संघ–संस्था तथा व्यवसायिक फर्मलाई कदरपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
सम्मानित हुने संघ–संस्था तथा फर्महरूमा दाउत निर्माण सेवा (पुनर्वास–२, अरणी बस्ति) का सञ्चालक दाउत तामाङ, एनएनएसडब्लुए तथा मर्सिकोर नेपाल, हेफर प्रोजेक्ट नेपाल तथा निड्स नेपाल, भागेश्वर सुगर एन्ड केमिकल इन्डस्ट्रिज प्रालि पुनर्वास, आलोक मल्टिकन्सर्ट, आदित्य इन्फोसिस, नेपालीको राष्ट्रिय वहाई समुदाय आध्यात्मिक सभा (पुनर्वास), सुदूरपश्चिम नेपाली समाज भारत, पुनर्वास नगरपालिका–८ स्थित अलंकार पब्लिक स्कुल, केदारी बिजुली भण्डार, करन काष्ठ तथा फर्निचर उद्योग धनगढी, दिपेश इम्पोरियम धनगढी, कल्पना श्रेष्ठ न्यू पुनर्वास ट्रेडर्स तथा ग्लोबल फार्मेसी धनगढी लगायत रहेका छन्।

उक्त संघ–संस्था तथा फर्महरूले नगरपालिकालाई फर्निचर, कम्प्युटर, प्रिन्टर, हार्डडिस्क, प्रोजेक्टर, स्ट्यान्ड पंखा, स्मार्ट बोर्ड तथा १५ प्रकारका अत्यावश्यक औषधि लगायतका सामग्री सहयोग गरेका थिए।

कार्यक्रमको सञ्चालन नगरपालिका योजना प्रमुख शंकर बोगटी तथा फोकल पर्सन ओमनाथ ढकालले गर्नुभएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply