हेमा भट्ट
कञ्चनपुर – नेपाली धार्मिक तथा सांस्कृतिक परम्पराको जीवित प्रतीक बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर वर्षभरि श्रद्धालु र पर्यटकहरूको आकर्षणको केन्द्र बनेको छ। संस्कारशिरोमणि ज्योतिषाचार्य गणेश प्रसाद पन्त, पञ्चाङ्गकार तथा मन्दिरका पीठाधीश्वरका अनुसार, यहाँका विभिन्न धार्मिक अनुष्ठान, मेलापर्व र स्नानोत्सवहरूले आस्था मात्र होइन, सामाजिक समावेशिता, ऐक्यबद्धता र सांस्कृतिक चेतनाको पनि उजागर गर्दै आएका छन्।
मन्दिरमा महाशिवरात्रि मेलाबाट वार्षिक धार्मिक उत्सवको सुरुवात हुन्छ। त्यसपछि साउने मेला, गङ्गादशहरा मेला, अक्षय तृतीया मेला, मासपारायण मेला (मंसिर ५ देखि पुस ५ सम्म), मकर स्नान मेला, विशेष नवरात्र बाइसताल स्नान कुम्भ मेला र कोटिहोम मेला (चैत शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म) सञ्चालन हुँदै आएका छन्। साथै प्रत्येक महिनाको शुक्ल पक्ष दशमीमा सानो मेला र नित्य पूजाआराधना निरन्तर रूपमा हुदैं आएको छ। यी सम्पूर्ण क्रियाकलापहरूले बनारसीधामलाई आध्यात्मिक ऊर्जा, सांस्कृतिक चेतना र जनआस्थाको केन्द्र बनाइरहेको छ।
इतिहासमा फर्कँदा, यस पावन स्थलको आरम्भ विक्रमसंवत् १६०४ मा मैनावती कोट क्षेत्रका महाराज मानुक चन्दको शासनकालमा भएको पाइन्छ। त्यतिबेला राजगुरु वीरभद्र पन्त, बसी पन्त, नरोत्तम पन्त र गोपेश्वर पन्त (गोबण्या) का नेतृत्वमा धार्मिक, सांस्कृतिक र सामाजिक समावेशी अभ्यासहरू स्थापन गरिएका थिए। ती अभ्यासहरू आज पनि जीवित छन् र नयाँ पुस्तालाई आस्थाको उज्यालो बाटो देखाउँदै छन्।
बनारसीधाम केवल पूजाआराधनाको स्थल नभई नेपाली समाजको सांस्कृतिक स्मृति, आध्यात्मिक पहिचान र ऐतिहासिक गौरवको साक्षी पनि हो। यहाँका अनुष्ठानहरू केवल कर्मकाण्ड होइनन्; ती जीवनदर्शन, नैतिक मूल्य र सामाजिक सद्भावका संवाहक हुन्।
यसरी, बनारसीधाम विश्वनाथ ज्योतिर्लिङ्ग मन्दिर आज पनि धार्मिक सहिष्णुता, ऐतिहासिक चेतना र समावेशी संस्कृतिको दीपस्तम्भका रूपमा उज्यालो छ—जहाँ आस्था, परम्परा र भविष्य एकै सूत्रमा बाँधिएका छन्।
