हेमा भट्ट, माघ २
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं. ६ अन्तर्गत बलुवा फाँटा, सूर्यमुखी टोलमा सम्पन्न भेलाबाट मदन दहित भलमनसा पदमा सर्वसम्मत रूपमा चयन हुनु भएको छ। उहाँको चयनसँगै टोलमा खुसी, विश्वास र सकारात्मक ऊर्जा थपिएको छ।
स्थानीय अगुवा, जेष्ठ नागरिक, युवा, महिला तथा विभिन्न समुदायका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थितिमा सम्पन्न छलफल तथा सहमतिपछि दहितलाई भलमनसा चयन गरिएको हो। समुदायभित्र आपसी समझदारी, मेलमिलाप, सामाजिक सद्भाव र सहकार्यलाई मजबुत बनाउने उद्देश्यसहित उहाँलाई यो जिम्मेवारी सुम्पिएको सहभागीहरूले बताएका छन्।
मदन दहितलाई सरल स्वभाव, निष्पक्ष सोच र सामाजिक कामप्रतिको सक्रियताका कारण समुदायले सधैं भरोसा गर्दै आएको छ। विगतदेखि नै टोलका सामाजिक गतिविधि, सामुदायिक समस्या समाधान, विवाद मिलाप र विकासका काममा उहाँको योगदान प्रशंसनीय रहँदै आएको स्थानीयवासीहरूको भनाइ छ। यही कारण उहाँ सर्वसम्मत रूपमा चयन हुनु स्वाभाविक र सबैका लागि स्वीकार्य भएको जनाइएको छ।
नव निर्वाचित भलमनसा दहितले आफ्नो कार्यकालमा टोलमा एकता कायम गर्ने, साना–ठूला समस्या आपसी संवादमार्फत समाधान गर्ने, विकास निर्माणका काममा सबैको सहभागिता बढाउने र सामाजिक सद्भावलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले समुदायको विश्वासलाई सम्मान गर्दै इमानदार र पारदर्शी रूपमा काम गर्ने प्रतिबद्धता पनि जनाउनुभएको छ।
भलमनसा चयनपछि स्थानीयवासीहरूले दहितप्रति बधाई तथा शुभकामना व्यक्त गर्दै उहाँको कार्यकाल सफल हुने विश्वास व्यक्त गरेका छन्। “टोलको साझा हितका लागि सबैलाई एकताबद्ध गराउँदै अघि बढ्नु नै भलमनसाको मुख्य जिम्मेवारी हो,एक स्थानीय समाजसेवी युवा नेता मखन दहितले भन्नुभयो, मदन दहितज्यू यस जिम्मेवारीका लागि योग्य व्यक्ति हुनुहुन्छ।
यस चयनले सूर्यमुखी टोलमा आपसी समझदारी र सहकार्यको संस्कृतिलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ। सामाजिक एकता, शान्ति र विकासका लागि गरिएको यो सर्वसम्मत निर्णय अन्य टोलहरूका लागि पनि प्रेरणादायी बन्ने विश्वास गरिएको छ।
