रिलिशा राजवंशी,माघ ९
बाँके – लुम्बिनी प्रदेश अन्तर्गत बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका–५ स्थित श्री नव ज्योति इंग्लिस मिडियम स्कूल प्रा.लि. ले आफ्नै विद्यालय प्राङ्गणमा सरस्वती पूजासहित ९औँ वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। ज्ञानकी देवी सरस्वतीको विधिवत् पूजा–आराधनाबाट सुरु भएको कार्यक्रमले शिक्षा, संस्कार र संस्कृतिको सन्तुलित र प्रेरणादायी सन्देश दिएको छ।


विद्यालय परिवार, अभिभावक, शिक्षक, विद्यार्थी तथा स्थानीय समुदायको उल्लेखनीय उपस्थितिमा सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका सांस्कृतिक नृत्य, गीत, नाटक तथा सिर्जनात्मक कार्यक्रमहरूले सम्पूर्ण वातावरणलाई उत्साहपूर्ण बनाएको थियो। अनुशासन र मेहनतको प्रतिफलस्वरूप देखिएको विद्यार्थी प्रतिभाले उपस्थित अभिभावक तथा अतिथिहरूलाई भावुकसमेत बनाएको थियो।


वार्षिक उत्सवका अवसरमा विद्यालयले शैक्षिक उपलब्धि, अनुशासन, अतिरिक्त क्रियाकलाप तथा समग्र प्रदर्शनमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ। विद्यालय प्रशासनका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीहरूमा आत्मविश्वास, सकारात्मक प्रतिस्पर्धा र निरन्तर प्रगतिप्रति प्रेरणा बढाउने विश्वास गरिएको छ।
वि.सं. २०७२ सालमा स्थापना भएको नव ज्योति स्कूलले प्रारम्भमा ५० जना विद्यार्थी र ५ जना शिक्षकबाट सुरु गरेको शैक्षिक यात्रामा आज उल्लेखनीय फड्को मारेको छ। हाल विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन्, जुन अभिभावकको विश्वास र विद्यालयको निरन्तर मेहनतको प्रमाण हो।


कार्यक्रमका सभा अध्यक्ष विद्यालय व्यवस्थापन समिति अध्यक्ष टोपेन्द्र खड्का रहनुभएको थियो भने प्रमुख अतिथि राप्ती सोनारी गाउँपालिका उपाध्यक्ष मनिसा सिंह थारू रहनुभएको थियो। त्यसैगरी विशिष्ट अतिथि वडा नं.–५ का वडा अध्यक्ष झगरु थारू रहनुभएको थियो। प्रमुख अतिथि तथा अतिथिहरूको उपस्थितिमा दीप प्रज्वलन र ब्यानर वाचन गर्दै कार्यक्रम औपचारिक रूपमा शुभारम्भ गरिएको थियो।


प्रमुख अतिथिले विद्यालयको शैक्षिक योगदानको प्रशंसा गर्दै गुणस्तरीय शिक्षा, अनुशासन र संस्कारलाई अझ सुदृढ बनाउन सुझाव दिनुभएको थियो। विशिष्ट अतिथिहरूले पनि विद्यालयले समुदायमा पुर्याएको सकारात्मक प्रभावको खुलेर प्रशंसा गरेका थिए।
कार्यक्रमअन्तर्गत सांस्कृतिक प्रस्तुति, सरस्वती पूजाको प्रसाद ग्रहण, वार्षिक साधारणसभा, पुरस्कार वितरण तथा नयाँ विद्यार्थी भर्ना कार्यक्रम सम्पन्न भएका थिए। समापन मन्तव्यका क्रममा सभाध्यक्षले उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयलाई अझ प्रभावकारी शैक्षिक केन्द्रका रूपमा विकास गरिने प्रतिबद्धता जनाउनुभयो।


शिक्षा नै जीवनको पहिलो आवश्यकता हो भन्ने सन्देशसहित सम्पन्न यो कार्यक्रमले विद्यालय र समुदायबीचको सम्बन्धलाई थप सुदृढ बनाउँदै विद्यार्थीहरूको उज्यालो भविष्यप्रति आशा र भरोसा जगाएको छ।
