कञ्चनपुर : दलित शिक्षकमाथि अमानवीय व्यवहार, शिक्षक महासंघको कडा चेतावनी

हेमा भट्ट, माघ १०
कञ्चनपुर – कृष्णपुर नगरपालिका–१ स्थित श्री बैजनाथ आधारभूत विद्यालयमा कार्यरत स्थायी शिक्षक गजिराम सार्कीमाथि अमानवीय व्यवहार र जातीय भेदभावजन्य क्रियाकलाप भएको आरोपले शिक्षक समुदायमा ठूलो आक्रोश सिर्जना गरेको छ।
नेपाल शिक्षक महासंघ, कृष्णपुर नगरपालिकाले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि मिति २०८२/१०/०९ मा सरस्वती पूजा समारोहको अवसरमा विद्यालयका वि.व्य.स अध्यक्ष सागर कुमार भण्डारीले शिक्षक सार्कीलाई पातमा टिका लगाउन लगाउनु भएको कार्य अमानवीय, अपमानजनक र जातीय विभेदजन्य भएको महासंघले औँल्याएको छ। महासंघले यस घटनालाई नेपालको संविधान, जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत दण्डनीय अपराध भएको उल्लेख गर्दै कडा भर्त्सना गरेको छ।
महासंघका पदाधिकारीहरूले विज्ञप्तिमा भनेका छन् कि विद्यालयको जिम्मेवार पदमा रहेका व्यक्तिबाट यस्तो कार्य हुनु न केवल व्यक्तिगत अपमान हो, तर सम्पूर्ण शिक्षक समुदायको आत्मसम्मानमा चोट पुर्‍याउने अत्यन्तै निन्दनीय र लज्जास्पद घटना भएको छ। यस घटनाले शिक्षक समुदाय मात्र नभई सम्पूर्ण शैक्षिक वातावरणमा गम्भीर असर पुर्‍याउने महासंघको चेतावनी छ।
महासंघले सम्बन्धित निकायहरूलाई कडाइका साथ केही मागहरू राखेको छ। मुख्यत: घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्नु, दोषी अध्यक्षलाई पदबाट तत्काल हटाई कानुन अनुसार कारवाही गर्नु, र विद्यालयमा समानता, मानव अधिकार र मर्यादाको संरक्षण सुनिश्चित गर्नु पर्ने जनाइएको छ।
महासंघका सचिव गणेशराम सार्की, स-अध्यक्ष दिपक भट्ट र अध्यक्ष पुरन सिंह बौगटीको हस्ताक्षरसहित जारी विज्ञप्तिले शिक्षक समुदायमा समान अवसर, सम्मान र मर्यादाको रक्षा गर्ने स्पष्ट संदेश दिएको छ। महासंघले समाजसँग पनि अपील गर्दै यस्ता घटनाप्रति सतर्क रहन र समानता कायम राख्न आग्रह गरेको छ।
शिक्षाक्षेत्रमा जातीय विभेद र अपमानजन्य कार्यले केवल पीडित शिक्षकको व्यक्तिगत सम्मान मात्र होइन, विद्यालयको समग्र शैक्षिक वातावरणमा नकारात्मक प्रभाव पार्ने भएकाले यसप्रति समाजको व्यापक चेतना आवश्यक रहेको विज्ञप्तिमा जोड दिइएको छ।
विकास र शिक्षामा समान अवसर सुनिश्चित गर्न तथा विद्यालयमा गरिमामय वातावरण कायम राख्न यस्तो घटनामा तत्काल कारबाही आवश्यक रहेको महासंघको मत छ। घटनापछि स्थानीय शिक्षक, अभिभावक र सामाजिक अभियन्ताहरूले पनि उक्त घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै दोषीमाथि उचित कारवाहीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply