हेमा भट्ट
बैतडी – पाटन नगरपालिका–३ स्थित श्री विश्वनाथ ज्योतिर्लिङ्ग बनारसी धाम मन्दिरमा लाग्ने वार्षिक धार्मिक मेलाको अवसरमा पाटन नगरपालिकाले स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
नगर कार्यपालिकाको कार्यालय पाटन, बैतडीले मिति २०८२/१०/०९ गते नगर प्रमुखस्तरीय निर्णय अनुसार मिति २०८२/१०/१४ गते पाटन नगरपालिका अन्तर्गतका सबै सरकारी कार्यालय तथा विद्यालयहरूमा सार्वजनिक बिदा दिने भएको हो।
नगरपालिकाले जारी गरेको सूचनामा मेलाको अवसरमा सम्पूर्ण नगरवासीलाई हार्दिक शुभकामना व्यक्त गर्दै धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको यस मेलालाई व्यवस्थित र उत्साहपूर्वक मनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।
धार्मिक आस्थाको केन्द्रका रूपमा रहेको विश्वनाथ ज्योतिर्लिङ्ग बनारसी धाम मन्दिरमा हरेक वर्ष लाग्ने मेलामा स्थानीयसहित टाढा–टाढाबाट श्रद्धालु भक्तजनको उल्लेख्य उपस्थिति रहने गर्दछ।
सूचना अनुसार उक्त दिन अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण कार्यालय तथा शैक्षिक संस्थाहरू बन्द रहनेछन्।
