काँग्रेस उम्मेदवार नरनारायण शाहद्वारा वडा–वडामा सम्पर्क कार्यालय

माघ १२
कैलाली– प्रतिनिधि सभा निर्वाचन नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी गतिविधि तातेका छन् । यही क्रममै नेपाली काँग्रेसका प्रतिनिधि सभा सदस्य उम्मेदवार नरनारायण शाह (मनु) ले वडा–वडामा सम्पर्क कार्यालय स्थापना गर्दै जनतासँग प्रत्यक्ष संवादको अभियान सुरु गरेका छन् ।

फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै शाहले धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा एकैदिन सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका हुन् । स्थानीय कार्यकर्ता, शुभेच्छुक र नागरिकको उपस्थितिमा रिवन काटेर कार्यालय उद्घाटन गरिएको थियो ।

स्थापना गरिएका सम्पर्क कार्यालयलाई चुनावी प्रचारको मात्र नभई जनताको आवाज सुन्ने केन्द्रका रूपमा प्रयोग गरिने उम्मेदवार शाहले बताएका छन् । उनका अनुसार नागरिकका गुनासा, सुझाव र अपेक्षा संकलन गर्दै त्यसलाई नीति र व्यवहारमा उतार्ने प्रयास गरिनेछ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै शाहले निर्वाचनलाई मर्यादित, सभ्य र अनुशासित बनाउनु सबैको साझा जिम्मेवारी भएको उल्लेख गरे । उनले आरोप–प्रत्यारोप र नकारात्मक प्रचारभन्दा सकारात्मक एजेन्डासहित जनतामाझ जानुपर्नेमा जोड दिए ।

‘निर्वाचन आचारसंहिता सबैले पालना गरौँ । समाजलाई विभाजन गर्ने होइन, जोड्ने राजनीति गरौँ,’ उनले भने । शाहले अरू दलको आलोचनामा समय खर्चिनुभन्दा आफ्नै संगठन, व्यवहार र संस्कार सुधारमा ध्यान दिनुपर्ने धारणा राखे । स्वस्थ प्रतिस्पर्धाले मात्र लोकतन्त्र बलियो हुने र जनताको विश्वास जित्न सकिने उनको भनाइ छ ।

सम्पर्क कार्यालय स्थापनापछि चुनावी अभियान थप प्रभावकारी बनेको स्थानीय काँग्रेस कार्यकर्ताको प्रतिक्रिया छ । वडा–वडामा कार्यालय हुँदा मतदातासँग नियमित सम्पर्क, कार्यक्रम समन्वय र सन्देश प्रवाह सहज भएको उनीहरू बताउँछन् । स्थानीय बासिन्दाले पनि आफ्ना समस्या राख्न सजिलो वातावरण बनेको बताएका छन् ।
राजनीतिक रूपमा महत्वपूर्ण मानिने कैलाली–५ मा यसपटक कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । निर्वाचन मिति नजिकिँदै जाँदा शाहले अन्य वडामा समेत सम्पर्क कार्यालय विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply