हेमा भट्ट माघ १३
कञ्चनपुर । आगामी निर्वाचनलाई लक्षित गर्दै कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ मा नेपाली कम्युनिष्ट पार्टीले संगठन विस्तार तथा परिचालनलाई तीव्र बनाएको छ। पार्टीले १ हजार ५ सय ५१ सदस्यीय विशाल निर्वाचन परिचालन मूल समिति गठन गर्दै चुनावी तयारीलाई थप व्यवस्थित र प्रभावकारी बनाएको हो।
पार्टीका अनुभवी नेता देवीलाल चौधरीको संयोजकत्वमा गठित यस समितिले संगठनात्मक मजबुती, जनआधार विस्तार र चुनावी अभियानलाई एकीकृत रूपमा अघि बढाउने विश्वास लिइएको छ। समितिमा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेतृत्वसँगै जनवर्गीय संगठनका प्रतिनिधि, वडा तहका अगुवा नेता तथा सक्रिय कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको छ।
मंगलबार झलारीमा सम्पन्न विस्तारित बैठक नेता देवीलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा पार्टीका केन्द्रीय सदस्य भानुभक्त जोशीले निर्वाचन केन्द्रित प्रशिक्षण दिनुहुँदै संगठन परिचालन, जनसम्पर्क विस्तार, राजनीतिक अनुशासन तथा वैचारिक स्पष्टताको महत्वबारे मार्गदर्शन गर्नुभएको थियो। प्रशिक्षणले कार्यकर्ताहरूमा थप उत्साह र आत्मविश्वास बढाएको सहभागीहरूको भनाइ छ।
बैठकले निर्वाचन मूल परिचालन समितिको सह–संयोजकमा खेमराज पाण्डेयलाई चयन गरेको छ। पार्टीका अनुसार नेतृत्व चयन अनुभव, कार्यक्षमता र संगठनप्रतिको प्रतिबद्धताको आधारमा गरिएको हो।
यसै क्रममा पार्टीले पालिकास्तरमा समेत संयोजकहरू तोकेर संगठनलाई जरोस्तरबाट मजबुत बनाउने रणनीति अघि सारेको छ। कृष्णपुर नगरपालिकामा अमिन दहित, शुक्लाफाँटा नगरपालिकामा महेशदत्त जोशी र बेतकोट नगरपालिकामा मिनराज गिरिलाई पालिका संयोजकको जिम्मेवारी दिइएको छ।
नेपाली कम्युनिष्ट पार्टीले कञ्चनपुर निर्वाचन क्षेत्र नं. २ बाट केन्द्रीय सदस्य तथा युवा नेता माधव पन्तलाई प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बनाइसकेको छ। तारा चुनाव चिह्नसहित प्रतिस्पर्धामा रहेका पन्त शैक्षिक, वैचारिक र राजनीतिक रूपमा सक्षम तथा जनसम्पर्कमा सक्रिय नेताका रूपमा परिचित छन्।
पार्टीले सशक्त संगठन, स्पष्ट नीति र प्रतिबद्ध नेतृत्वका साथ कञ्चनपुर क्षेत्र नं. २ मा सकारात्मक राजनीतिक परिवर्तन ल्याउने दाबी गरेको छ।
