धनगढी–५ मा काँग्रेसको चुनावी चहलपहल तीव्र, शाहले सबै वडामा खोले सम्पर्क कार्यालय

माघ १४

धनगढी — निर्वाचनको मिति नजिकिँदै जाँदा कैलाली क्षेत्र नम्बर ५ मा नेपाली काँग्रेसको चुनावी गतिविधि उल्लेखनीय रूपमा बढ्दै गएको छ। प्रतिनिधि सभा सदस्यका काँग्रेस उम्मेदवार नरनारायण शाह (मनु) ले आफ्नो निर्वाचन क्षेत्रभित्र पर्ने सबै वडामा सम्पर्क कार्यालय स्थापना गर्दै संगठन सुदृढीकरण र मतदाता पहुँचलाई प्राथमिकतामा राखेका छन्।

वडास्तरमा सम्पर्क कार्यालय सञ्चालनमा आएपछि उम्मेदवार शाह टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा व्यस्त देखिएका छन्। स्थानीय आवश्यकता, समस्या र जनचाहना बुझ्दै काँग्रेसको नीति, कार्यक्रम र प्रतिबद्धता जनतासम्म पु¥याउने उद्देश्यका साथ उनी दैनिक रूपमा विभिन्न वडामा सक्रिय छन्। यसले पार्टी कार्यकर्ता तथा शुभेच्छुकमा नयाँ उत्साह थपिएको स्थानीय काँग्रेस नेताहरूको भनाइ छ।

कार्यतालिका अनुसार सोमबार धनगढी उपमहानगरपालिकाका वडा नम्बर १, २, ३, ४, ५, ६, ११ र १३ मा सम्पर्क कार्यालय स्थापना गरिएको थियो। त्यसपछि मंगलबार वडा नम्बर १४ देखि १९ सम्मका वडासँगै कैलारी गाउँपालिका वडा नम्बर ६ र ९ मा कार्यालय उद्घाटन गरिएको हो। बुधबार धनगढी उपमहानगरपालिकाका वडा नम्बर ७, ८, ९, १० र १२ मा कार्यालय स्थापना भएसँगै क्षेत्र नम्बर ५ अन्तर्गतका सबै वडामा काँग्रेसका सम्पर्क कार्यालय सञ्चालनमा आएका छन्।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रमका क्रममा उम्मेदवार शाहले पार्टीका संस्थापक नेता बीपी कोइरालाको तस्बिरमा माल्यार्पण गर्दै र रिबन काटेर कार्यक्रमको शुभारम्भ गरेका थिए। बीपीको लोकतान्त्रिक सोच, समाजवाद र मूल्य–मान्यतालाई आत्मसात गर्दै चुनावी अभियान अघि बढाइने सन्देश पार्टी नेताहरूले दिएका छन्।

कैलाली क्षेत्र नम्बर ५ अन्तर्गत धनगढी उपमहानगरपालिकाका १९ वटा वडा र कैलारी गाउँपालिकाका २ वटा वडा पर्दछन्। ती सबै वडामा स्थापना गरिएका सम्पर्क कार्यालयलाई केवल चुनावी प्रचारको केन्द्र मात्र नभई जनताको समस्या सुन्ने, छलफल गर्ने र समाधानका लागि पहल गर्ने साझा थलोका रूपमा विकास गरिने शाहको भनाइ छ।
आफू पार्टीभित्र सबैको साझा उम्मेदवार भएको उल्लेख गर्दै शाहले सबैको साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे। उनले कार्यकर्ता तथा समर्थकलाई मर्यादित, अनुशासित र सकारात्मक ढंगले चुनावी अभियानमा लाग्न आग्रह गरे।

‘हामी आफ्नै एजेन्डामा केन्द्रित बनौं, अरूलाई आक्षेप लगाउने काम नगरौं,’ उनले भने, ‘सभ्य र जिम्मेवार भएर निर्वाचन आचारसंहिता पालना गरौं।’

शाहले निर्वाचनलाई लोकतन्त्रको महत्वपूर्ण अभ्यासको रूपमा उल्लेख गर्दै नकारात्मक प्रचार र व्यक्तिगत आलोचनाले राजनीति कमजोर बनाउने धारणा व्यक्त गरे। विकास, सुशासन र जनसेवालाई चुनावी अभियानको मूल मुद्दा बनाउन उनले कार्यकर्तालाई निर्देशन दिए।

स्थानीय काँग्रेस कार्यकर्ताहरूका अनुसार शाहको सक्रियता र वडास्तरमा संगठन विस्तारसँगै पार्टी संरचना थप मजबुत बनेको छ। लामो समयदेखि सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय शाहले स्थानीय समस्या राम्ररी बुझ्ने र जनताको भरोसा जित्न सक्ने उम्मेदवार भएको उनीहरूको दाबी छ।

आगामी निर्वाचनलाई लक्षित गर्दै काँग्रेस कैलाली क्षेत्र नम्बर ५ ले घरदैलो अभियान, कोणसभा, अन्तरक्रिया तथा जनसम्पर्क कार्यक्रमलाई अझ तीव्र बनाउने तयारी गरेको छ। सम्पर्क कार्यालयलाई केन्द्र बनाएर प्रचार–प्रसारलाई प्रभावकारी बनाइने जनाइएको छ। चुनावी माहोल तातिँदै जाँदा शाहको सक्रियता र संगठन विस्तारले क्षेत्र नम्बर ५ को राजनीतिक प्रतिस्पर्धा थप चासोपूर्ण बन्दै गएको देखिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply