हेमा भट्ट माघ १५
कञ्चनपुर — नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधी सभाका उम्मेदवार मान बहादुर सुनारले कञ्चनपुर क्षेत्र नं. ३ का जनताका लागि अझ जिम्मेवार र समर्पित भएर काम गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गर्नुभएको छ।
दोधारा चाँदनी नगरपालिका–७ कञ्चनभोजमा स्थानीयबासीसँगको भेटघाटमा उहाँले बताउनुभयो कि गाउँ–टोलदेखि बस्ती–बस्तीमा जनताको साथमा रहँदै विकास र समृद्धिको अभियानलाई अघि बढाउने उहाँको संकल्प अझ बलियो बन्दै गएको छ। दोधारा गाबिसका अध्यक्ष र सुदूरपश्चिम सरकारका पूर्व राज्यमन्त्रीका रूपमा काम गरिसक्नुभएका सुनारलाई आफ्नो कार्यकालमा विकास कार्यमा ठुलो योगदान दिएका व्यक्तिका रूपमा समेत चिनिन्छन्।
उम्मेदवार सुनारले भन्नुभयो, “म सधैं जनताको साथमा छु, हरेक समय, हरेक परिस्थितिमा। मेरो उद्देश्य केवल मत माग्ने मात्र होइन, जनताको दु:ख–सुखमा सहभागी हुने हो। कञ्चनपुर–३ का प्रत्येक गाउँ र बस्तीमा म जनताको साथमा रहिरहनेछु।”
विशेषगरी युवाप्रति आफ्नो ध्यान केन्द्रित गर्दै सुनारले आधुनिक प्रविधि, डिजिटल सीप र नवप्रवर्तनमार्फत घरमै बसेर स्वरोजगार बन्ने अवसर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले युवालाई रोजगार सिर्जना र स्वरोजगारमा जोड्दै कञ्चनपुरको विकासमा योगदान पुर्याउने योजना प्रस्तुत गर्नुभयो।
सुनारले विकास र समृद्धिका लागि ईमानदारी, प्रतिबद्धता र निरन्तरतालाई प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्दै भ्रष्टाचार विरुद्धको अडान पनि प्रष्ट पार्नुभयो। उहाँले जोड दिनुभयो, “म भ्रष्टाचार गर्दिन, र कसैलाई पनि गर्न दिन्न। मेरो ध्यान सदैव जनताको सेवामा केन्द्रित रहनेछ।”
उम्मेदवार सुनारको स्पष्ट लक्ष्य छ — कञ्चनपुर–३ का जनताको जीवनस्तर सुधार गर्दै युवालाई अवसरको पहुँच दिलाउने, र क्षेत्रलाई दिगो विकासको मार्गमा अगाडि बढाउने। जनताको आशीर्वादले उहाँलाई थप प्रेरित गर्दै विकासको यात्रामा निरन्तरता दिनेछ।
