ऋतिका गुरुङ : निःस्वार्थ सेवाले चौपायाको जीवन बचाउँदै समाजको चेतना झकझक्याउने प्रेरणादायी अभियन्ता

हेमा भट्ट
धनगढी — छाडा, पीडित तथा बेवारिसे पशुहरूको उद्धार, उपचार र संरक्षणमा लामो समयदेखि निःस्वार्थ रूपमा सक्रिय रहँदै आएकी पशु अधिकार अभियन्ता ऋतिका गुरुङ आज समाजका लागि प्रेरणाको उज्यालो उदाहरण बनेकी छन्। ‘स्ट्रीट पाउज (Street Paws)’ की सञ्चालिकाका रूपमा परिचित गुरुङले सीमित स्रोतसाधन र चुनौतीपूर्ण परिस्थितिका बाबजुद पनि हजारौँ छाडा कुकुर, बिराला तथा चौपायाहरूको जीवन बचाउँदै मानवीय संवेदनाको उच्च नमूना प्रस्तुत गर्दै आएकी छन्।

हालै मिति २०८२–१०–१५ गते गोदावरी नगरपालिका–५, गेटा नजिकै अवस्थित एक गौशालामा चौपायाहरूको अत्यन्तै दयनीय अवस्था देखेपछि गुरुङ गहिरो चिन्तामा परेकी थिइन्। उक्त गौशालामा केही पशुहरू ज्यान जोखिममा रहेको, कतिपय मरेका अवस्थामा फेला परेका र मृत पशुहरूलाई कुकुर तथा स्यालले खाइरहेको दृश्यले आफू स्तब्ध भएको उनले बताइन्। जिउँदा पशुहरू भयभीत अवस्थामा रहेका, पिउने पानी र खाने चारा अभावमा छटपटाइरहेका तथा चारैतिर तारबारले घेरिएको अमानवीय वातावरण देख्दा आफूलाई गहिरो पीडा पुगेको उनको भनाइ छ।
“जानकारी हुँदाहुँदै पनि पशुहरू यति ठूलो पीडामा रहेको देख्दा सहनै गाह्रो भयो,” गुरुङ भन्छिन्, “राज्यको लापरबाही र सम्बन्धित निकायको ध्यान किन यहाँ पुगेन? यो विषयमा सबै सरोकारवालाको गम्भीर ध्यानाकर्षण आवश्यक छ।”

यही पीडाबाट प्रेरित हुँदै उनले २४ घण्टाभित्र उद्धारमा पुग्ने प्रतिबद्धता जनाइन् र आफैं अग्रसर भइन्।
ऋतिका गुरुङको पहलमा आजै उपचार टोलीसहित गेटा गौशालामा पुगेर आपतकालीन उद्धार तथा राहत कार्य सञ्चालन गरिएको छ। उनको नेतृत्वमा पुगेको टोलीले चौपायाहरूका लागि खाना, पराल, हरियो घाँस–पात, औषधि, सरसफाइ सामग्री तथा कीटाणुनाशक औषधि ट्र्याक्टर–ट्रलीमार्फत प्रत्यक्ष रूपमा पुर्‍याएको थियो। साथै दुई जना पशु चिकित्सकसहितको उपचार टोलीले लामो समयदेखि भोक, रोग र उपचारविहीन अवस्थामा रहेका पशुहरूको तत्काल उपचार र हेरचाह गरेको छ।

स्थानीयवासीका अनुसार, चौपायाको नाममा र गौशालाको नाममा आउने सरकारी बजेट तथा दातृ निकायको सहयोग वास्तविक रूपमा पशुसेवामा खर्च नभई दुरुपयोग भइरहेको गम्भीर आरोपसमेत उठाइएको छ। कतिपयले गौशालालाई सेवा केन्द्रभन्दा पनि उद्योग, व्यापार र कमाइको माध्यम बनाइएको गुनासो गरेका छन्। दुग्ध उत्पादन गर्न सक्ने पशुहरूबाट दूध बिक्री गर्ने तर अपांग, वृद्ध र कमजोर पशुहरूलाई बेवास्ता गर्ने, सबै पशुलाई एउटै स्थानमा अव्यवस्थित रूपमा राख्ने जस्ता गतिविधिले समस्या झन् जटिल बनेको स्थानीयहरूको भनाइ छ।

“बजेट आउँछ, तर लेखाजोखा छैन। राहत र आर्थिक संकलन हुन्छ, तर पारदर्शिता छैन। वार्षिक हिसाबकिताब सार्वजनिक गरिएको छैन,” स्थानीयवासी भन्छन्। उद्धारपछि पुनः त्यही जिम्मेवार संस्थालाई पशु बुझाइने तर अवस्था नबदलिने परिपाटीले समस्या पटक–पटक दोहोरिने गरेको उनीहरूको गुनासो छ।
यस विपरीत, ऋतिका गुरुङजस्ता अभियन्ता सीमित बजेटमै आफैं खटिएर हजारौँ रुपैयाँ बराबरको खर्चलाई लाखौँको सेवामूलक कार्यमा रूपान्तरण गर्दै चौपायाको जीवन जोगाइरहेका छन्। आजको उद्धार कार्यमा ऋतिका गुरुङ, तारा चन्दसहित ‘गाई माता बचाउ अभियान’ सक्रिय रूपमा सहभागी रहेको थियो। यो पहलपछि गेटा गौशालामा रहेका चौपायाहरूले पुनः बाँच्ने आशा पाएका छन्।

“जिम्मेवारी लिएका संस्था र गौ संरक्षणका नाममा सञ्चालन गरिएका संरचना कहाँ हराए?” भन्ने प्रश्न अहिले स्थानीयस्तरमा गम्भीर रूपमा उठ्न थालेको छ। पशु कल्याणका नाममा खोलिएका संरचनाको प्रभावकारी अनुगमन, पारदर्शी लेखापरीक्षण र वास्तविक सेवा सुनिश्चित गर्न राज्य तथा सम्बन्धित निकायले तत्काल कदम चाल्नुपर्ने माग स्थानीयवासीले गरेका छन्।
निःस्वार्थ सेवा, मानवीय संवेदना र कर्मले समाज परिवर्तन सम्भव छ भन्ने सशक्त उदाहरण ऋतिका गुरुङले फेरि एकपटक प्रस्तुत गरेकी छन्। उनको अभियानले केवल चौपायाको जीवन मात्र होइन, समाजको चेतना, उत्तरदायित्व र संवेदनशीलतालाई समेत झकझक्याएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply