प्रथम गोल्ड कप पेनाल्टी सुटआउटको उपाधि ब्राइट बिचफाटालाई

धनबहादुर बिक
पुनर्वास, माघ १६
कञ्चनपुरको पुनर्वास नगरपालिका–६ स्थित खप्तड इङ्गलिस बोर्डिङ स्कुलको आयोजनामा सम्पन्न निजी विद्यालयस्तरीय प्रथम गोल्ड कप पेनाल्टी सुटआउट फुटबल प्रतियोगिता को उपाधि ब्राइट बिचफाटा इङ्गलिस बोर्डिङ स्कुलले हात पारेको छ।

आधारभूत तह (कक्षा ८ सम्म) का छात्रहरू सहभागी प्रतियोगितामा २४ विद्यालयको सहभागिता रहेको थियो। फाइनल खेलमा जेम्स एकेडेमीलाई पराजित गर्दै पुनर्वास–९ स्थित ब्राइट बिचफाटाले प्रथम स्थान हासिल गरेको हो।

प्रथम हुने ब्राइट बिचफाटाले नगद १५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने द्वितीय हुने जेम्स एकेडेमीले नगद १० हजार रुपैयाँ र ट्रफी हात पारेको छ।

त्यसैगरी प्रतियोगिताका सर्वाधिक गोलकर्ता ब्राइट बिचफाटाका खेलाडी सुजन बुढाले नगद १ हजार रुपैयाँ, मेडल र प्रमाणपत्र प्राप्त गरे। उत्कृष्ट गोलरक्षक ब्राइट बिचफाटाकै क्रिस सुनारले पनि नगद १ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्।
विद्यार्थीहरूमा खेलकुदप्रति मनोबल वृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न पाउँदा खुशी लागेको विद्यालयका प्रिन्सिपल अमित रोकायाले बताए।
समूह चरणमा लिग प्रणाली र दोस्रो चरणमा नकआउट प्रणालीका आधारमा खेलाइएको प्रतियोगिता फिफा, एएफसी तथा एन्फा का नियमअनुसार सञ्चालन गरिएको थियो। माघ १६ गते शहीद दिवस को अवसर पारेर आयोजना गरिएको प्रतियोगितामा निजी विद्यालयका विद्यार्थी, शिक्षक तथा शिक्षिकाको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि पुनर्वास नगरपालिका–६ का वडा अध्यक्ष मित्र सिंह लामाले यस्ता प्रतियोगिताले बालबालिकाको सर्वाङ्गीण विकास र अनुशासनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।

विद्यालय सञ्चालक समिति अध्यक्ष कमल केसी को सभापतित्वमा सम्पन्न कार्यक्रममा मुख्य निर्णायक कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका सदस्य मानबहादुर तामाङ, सहायक निर्णायक सन्तोष भट्ट र जीवन क्षेत्री रहेका थिए। कार्यक्रम सञ्चालन शिक्षक गजेन्द्र पन्त ले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply