कञ्चनपुर–१ मा चुनावी माहोल तातेसँगै दुष्प्रचारप्रति नेकपाको गम्भीर ध्यानाकर्षण

कञ्चनपुर, माघ १६
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि चुनावी गतिविधि तीव्र बन्दै जाँदा उम्मेदवार बीना मगरप्रति लक्षित भ्रामक प्रचारप्रति नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

नेकपाका अनुसार चुनाव नजिकिँदै जाँदा उम्मेदवार मगरप्रति बढ्दो जनसमर्थनलाई प्रभावित पार्ने उद्देश्यले विदेशमा बसोबास गर्ने केही व्यक्तिमार्फत सामाजिक सञ्जालमा तथ्यहीन सामग्री फैलाइएको छ।

शुक्रबार निर्वाचन क्षेत्र नम्बर १ निर्वाचन परिचालन समितिले जारी गरेको विज्ञप्तीमा ‘मिन गुरुङ’ नामक फेसबुक खाताबाट उम्मेदवारविरुद्ध असत्य आरोपसहितको भिडियो प्रसारित भएको भन्दै आपत्ति जनाइएको छ। पार्टीले उक्त सामग्री पूर्णतः कपोलकल्पित र आधारहीन रहेको स्पष्ट पारेको छ।
विज्ञप्तीमा उल्लेख भएअनुसार जेन–जी विद्रोहपछि आउँदो ०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लिएर देशभर लोकतान्त्रिक वातावरण बनेको छ र नेकपा पनि जनताको विश्वास जित्ने उद्देश्यसहित चुनावी अभियानमा सक्रिय छ।
“महिला नेतृ बीना मगर कञ्चनपुर–१ बाट हाम्रो उम्मेदवार हुनु आम जनतालाई विदित विषय हो,” विज्ञप्तीमा भनिएको छ, “तर चुनावी प्रतिस्पर्धालाई प्रभावित पार्ने नियतले झुटा आरोप फैलिनु दुर्भाग्यपूर्ण हो।”

बीना मगरको विदेशमा रेष्टुरेन्ट रहेको भन्ने प्रचार पूर्णतः असत्य भएको पार्टीले स्पष्ट पार्दै यस्तो दुष्प्रचार योजनाबद्ध रूपमा गरिएको जनाएको छ। नेकपाले जनतामा भ्रम नफैलाउन आग्रह गर्दै यस्ता सामग्रीलाई बिना तथ्य, प्रमाण प्रसारण गर्ने प्रवृत्तिले सञ्चार जगतको विश्वासनीयतामै आँच पुग्ने उल्लेख गरेको छ।
चुनावी माहोल सकारात्मक बन्दै जाँदा अत्तालिएका केही तत्वले विदेशमा रहेका नेपालीलाई प्रयोग गरी दुष्प्रचार गराउनु निन्दनीय कार्य भएको पार्टीको ठहर छ।

नेकपा क्षेत्र नम्बर १ का संयोजक देवीलाल चौधरीद्वारा जारी विज्ञप्तीमा चुनावको मुखमा षड्यन्त्रपूर्ण ढङ्गले मानहानी गर्ने कार्य तत्काल रोक्न चेतावनी दिइएको छ। अन्यथा कानुनी प्रक्रियामा जान बाध्य हुने स्पष्ट सन्देश पनि दिइएको छ।

साथै पार्टीले आम मतदाता दाजुभाइ तथा दिदीबहिनीहरूलाई भ्रममा नपरी तथ्यमा आधारित सूचनामा विश्वास गर्न अनुरोध गरेको छ।
नेकपाले स्मरण गराएको छ—बीना मगर ०७४ सालमा निर्वाचित भई खानेपानी मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा तथा त्यसअघि पनि सधैँ जनताको सेवामा सक्रिय रहँदै आएको इतिहास सर्वविदित छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply