हेमा भट्ट, माघ १६
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका वडा नम्बर ७ स्थित श्री कृष्ण माध्यमिक विद्यालय, सिमलफाँटाको ४०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विविध सांस्कृतिक कार्यक्रमसहित भव्य, सभ्य र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक राज भट्टको अध्यक्षता तथा शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रण बहादुर महराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा शिक्षा, संस्कृति र समुदायबीचको सहकार्यलाई सुदृढ बनाउने सन्देश प्रवाह गरिएको थियो। कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्नुका साथै अभिभावक, जनप्रतिनिधि र समाजसेवीबीच आपसी समन्वय र विश्वासलाई अझ मजबुत बनाएको विद्यालय परिवारले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका लोकनृत्य, आधुनिक नृत्य, गीत, नाटक तथा विविध सांस्कृतिक प्रस्तुतिहरूले उपस्थित दर्शकहरूको मन जित्न सफल भए। विद्यालयको शैक्षिक प्रगति, भौतिक पूर्वाधार, सह–पाठ्यक्रम गतिविधि र भावी योजनासम्बन्धी विद्यालयको प्रतिवेदन प्रधानाध्यापक तेज बहादुर साउदले प्रस्तुत गर्दै विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रमुख अतिथि नगर प्रमुख रण बहादुर महराले विद्यालयको चार दशक लामो योगदानको प्रशंसा गर्दै सामुदायिक विद्यालयको सुदृढीकरणमा स्थानीय सरकारको निरन्तर सहयोग रहने विश्वास व्यक्त गर्नुभयो। उहाँले शिक्षा नै समृद्ध समाजको आधार भएकाले अभिभावक, शिक्षक र स्थानीय तहबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो।
कार्यक्रमको कुशल सञ्चालन स्टार प्रसाद भट्टले गर्नुभएको थियो। निमन्त्रणालाई सहर्ष स्वीकार गरी कार्यक्रममा उपस्थित हुने सम्पूर्ण अतिथि, अभिभावक, जनप्रतिनिधि तथा समाजसेवीप्रति विद्यालय परिवारले हार्दिक आभार व्यक्त गरेको छ। साथै कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्याउने शिक्षक, विद्यार्थी, अभिभावक तथा आर्थिक सहयोग प्रदान गर्ने सबै सहयोगी हातहरूप्रति विशेष धन्यवाद ज्ञापन गरिएको छ।
चार दशकको गौरवपूर्ण यात्रासँगै आगामी दिनमा अझ उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गर्ने संकल्पका साथ सम्पन्न उक्त कार्यक्रमले श्री कृष्ण माध्यमिक विद्यालय, सिमलफाँटालाई शैक्षिक र सांस्कृतिक केन्द्रका रूपमा थप उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
