हेमा भट्ट, माघ १७
कृष्णपुर, कञ्चनपुर —
रिज एकेडेमी स्कूल, कृष्णपुर–कञ्चनपुरको १६औँ वार्षिक समारोह तथा अभिभावक भेट कार्यक्रम २०८२ भव्य, अनुशासित र उत्साहपूर्ण वातावरणमा सफलतापूर्वक सम्पन्न भएको छ। शिक्षा, संस्कृति र सामाजिक चेतनालाई एकसाथ जोड्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।



विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरबहादुर रोकायाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा प्रमुख अतिथिका रूपमा उपस्थित रहनुभएको थियो। कार्यक्रमका विशिष्ट अतिथिहरूमा नगर उपप्रमुख द्रौपती राना, कञ्चनपुर जिल्ला समन्वय समिति सदस्य जय सिंह विष्ट, साहित्यकार तथा समाजसेवी शिक्षक सिताराम भट्ट कृष्णपुर नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष दिनेश खड्का, वडा नं. ६ का वडा सदस्य चक्रबहादुर रैकाल, कञ्चन माध्यमिक विद्यालयका शिक्षक सुभाष पन्तलगायत विभिन्न विद्यालयका शिक्षक, बुद्धिजीवी, समाजसेवी, अभिभावक तथा विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष दिनेश खड्काले रिज एकेडेमीले कृष्णपुर क्षेत्रमा पु¥याएको शैक्षिक योगदानको प्रशंसा गर्दै समयसापेक्ष, सकारात्मक तथा व्यवहारिक सुझाव दिनुभयो। उहाँले विद्यालय, अभिभावक र विद्यार्थीबीचको सहकार्य नै गुणस्तरीय शिक्षाको आधार भएको उल्लेख गर्दै उपस्थित अभिभावक, विद्यार्थी तथा ज्येष्ठ नागरिकहरूलाई सम्मानसहित शुभकामना व्यक्त गर्नुभयो।



त्यसैगरी जिल्ला समन्वय समिति सदस्य जय सिंह विष्टले गुणस्तरीय र युगअनुकूल शिक्षाको आवश्यकतामाथि जोड दिँदै कृष्णपुर नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो। सामुदायिक र संस्थागत विद्यालयबीचको शैक्षिक उपलब्धिको समीक्षा आवश्यक रहेको उल्लेख गर्दै उहाँले दुवै क्षेत्रका शिक्षकबीच नियमित अन्तरक्रिया र अनुभव आदान–प्रदान हुनुपर्ने सुझाव दिनुभयो। रिज एकेडेमीले विद्यार्थीको शैक्षिक उपलब्धि मात्र नभई मानसिक, नैतिक र सामाजिक विकासमा पनि महत्वपूर्ण योगदान दिएको भन्दै उहाँले विद्यालय परिवारलाई प्रशंसा व्यक्त गर्नुभयो। साथै शिक्षा क्षेत्रमा अनावश्यक राजनीति नगर्न र गेटा मेडिकल कलेज शीघ्र सञ्चालनका लागि सबै पक्ष जिम्मेवार बन्नुपर्ने धारणा राख्नुभयो।



विद्यालयका संस्थापक तथा प्रधानाध्यापक टेक राज भट्टले विद्यालयको स्थापना यात्रालाई स्मरण गर्दै वि.सं. २०६६ सालमा सानो झुपडीबाट ७० जना विद्यार्थीका साथ सुरु गरिएको रिज एकेडेमी आज ८ सयभन्दा बढी विद्यार्थी अध्ययनरत प्रतिष्ठित शैक्षिक संस्थामा रूपान्तरण भएको जानकारी दिनुभयो। निरन्तर मेहनत, लगनशीलता र शिक्षक–अभिभावकको सहकार्यका कारण शिक्षाको गुणस्तरमा करिब ८० प्रतिशत सुधार आएको र शैक्षिक तथा खेलकुद दुवै क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्न सफल भएको उहाँले बताउनुभयो।



प्रमुख अतिथि नगर प्रमुख हेमराज ओझाले रिज एकेडेमी नमुना विद्यालयको रूपमा अगाडि बढिरहेको उल्लेख गर्दै शैक्षिक सुधार, सामाजिक रूपान्तरण र सकारात्मक सोचको विकासमा विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। “हामीले मात्रै पाउनुपर्छ भन्ने सोच होइन, सबैले पाउनुपर्छ भन्ने भावना विकास गर्नुपर्छ,” भन्दै उहाँले समावेशी शिक्षा र सामाजिक सद्भावको महत्व औँल्याउनुभयो। विद्यालयको भौतिक संरचना सुदृढ भइसकेको उल्लेख गर्दै आगामी दिनमा अझ उत्कृष्ट उपलब्धि हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो।



विशिष्ट अतिथि साहित्यकार तथा समाजसेवी शिक्षक सिताराम भट्टले विद्यार्थी कक्षा १० सम्म बुवा–आमासँगै बसेर अध्ययन गर्नु पर्ने आवश्यकता औँल्याउँदै गाउँका विद्यालयमा पढ्ने विद्यार्थीहरूले आफ्नो परिवेश, संस्कार र समाजलाई नजिकबाट बुझ्ने अवसर पाउने बताउनुभयो। उदाहरणसहित उहाँले ग्रामीण परिवेशमा हुर्किएका विद्यार्थीहरूमा व्यवहारिक ज्ञान, परिपक्वता र सामाजिक जिम्मेवारीबोध बढी हुने धारणा राख्नुभयो।



त्यस्तै नगर उपप्रमुख द्रौपती रानाले शिक्षा नै समाज परिवर्तनको आधार भएको उल्लेख गर्दै सकारात्मक सोच, अनुशासन र मूल्य–मान्यतामा आधारित शिक्षाको विकासका लागि सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो। उहाँले विद्यालय परिवार, अभिभावक तथा विद्यार्थीहरूलाई सफल भविष्यका लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो।
कार्यक्रममा विद्यालयका सञ्चालक सरदर महेन्द्र रोकायाले विद्यार्थीको सफलताको जिम्मेवारी शिक्षक र विद्यालयको मात्र नभई अभिभावकको पनि समान जिम्मेवारी हुने बताउनुभयो। “हामी केवल तपाईंका नानीहरूको मात्र होइन, सबैका नानीहरूको भविष्यप्रति जिम्मेवार छौँ,” भन्दै उहाँले विद्यार्थीको पढाइ, सीप विकास र स्कलरशिप कार्यक्रममा विद्यालयले निरन्तर साथ दिइरहेको उल्लेख गर्नुभयो।



कार्यक्रममा अतिथिहरूलाई मायाको चिनो प्रदान गरिएको थियो भने स्वागत मन्तव्य रितिविक धारणी रोकाया र रवि रानाले प्रस्तुत गर्नुभएको थियो। कार्यक्रम सञ्चालन कक्षा १० का विद्यार्थी धिरज भट्ट र निमिशा भट्टराईले कुशलतापूर्वक गर्नुभएको थियो।
विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक, साहित्यिक तथा विशेष नृत्य प्रस्तुतिहरूले कार्यक्रमलाई थप आकर्षक, जीवन्त र भावनात्मक बनाएको थियो। बीच–बीचमा मायाको चिनो प्रदान गर्दै, विशेष नृत्य र सन्देशमूलक प्रस्तुतीमार्फत सम्पूर्ण माहोल सकारात्मक र सान्दर्भिक बनाइएको थियोज।
अनुशासनयुक्त, सभ्य र भव्य रूपमा सम्पन्न उक्त कार्यक्रमले शिक्षा, संस्कार र सहकार्यको महत्वलाई उजागर गर्दै सहभागी सबैको मन जित्न सफल भएको छ।





















