हेमा भट्ट, माघ १९
कैलाली — कैलाली संघीय निर्वाचन क्षेत्र नम्बर–५ का संघीय उम्मेदवार आनन्द बहादुर चन्दले धनगढी उपमहानगरपालिका अन्तर्गत धनगढी बजार चौराहाबाट औपचारिक रूपमा आफ्नो घरदैलो कार्यक्रमको शुभारम्भ गर्नुभएको छ। अभियानको सुरुवात उहाँले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिरमा फूलमाला अर्पण गर्दै गर्नुभएको हो।
घरदैलो कार्यक्रमको क्रममा उम्मेदवार चन्दले राष्ट्रिय एकता, विधिको शासन, सुशासन र भ्रष्टाचार नियन्त्रण नै आफ्नो प्रमुख राजनीतिक एजेन्डा रहेको स्पष्ट पार्नुभयो। उहाँले देश विकासका लागि सबै नागरिक एक ढिक्का भएर अघि बढ्नुपर्नेमा जोड दिँदै शिक्षा, स्वास्थ्य, रोजगारी र समग्र विकासलाई पहिलो प्राथमिकतामा राख्ने बताउनुभयो।
स्थानीयवासीहरूसँगको भेटघाटमा चन्दले गौरीफन्टा नाका पूर्ण रूपमा सञ्चालन, सेती प्रादेशिक अस्पताललाई केन्द्रीय अस्पतालमा स्तरोन्नति, फाप्ला क्रिकेट खेलमैदानको निर्माण, पब्लिक–प्राइभेट मोडेलमा गेटा मेडिकल कलेजको विकास जस्ता दीर्घकालीन योजनाहरू प्रस्तुत गर्नुभयो। यी योजना विगत ३५ वर्षदेखि किन अल्झिए र अपेक्षित विकास किन हुन सकेन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ थियो।

उम्मेदवार चन्दले स्वतन्त्र उम्मेदवारको हैसियतमा पाँच वर्षे विकास क्यालेन्डर सार्वजनिक गर्ने र विकासका कामहरू कसरी, कहिले र कति समयमा सम्पन्न हुन्छन् भन्ने विषयमा स्पष्ट खाका जनतासामु राख्ने प्रतिबद्धता जनाउनुभयो। उहाँले हरेक तीन महिनामा गरेका कामहरूको सार्वजनिक लेखाजोखा (अडिट) गरी जनताको सुझाव लिने र सोही आधारमा अगाडि बढ्ने नीति अपनाइने बताउनुभयो।
“३५ वर्षमा हुन नसकेका काम हामी ३ वर्षभित्र गरेर देखाउँछौँ,” चन्दले आत्मविश्वासका साथ भन्नुभयो, “जनताले प्रत्यक्ष रूपमा मूल्याङ्कन गर्न पाउने व्यवस्था हामी आफैंले बनाउनेछौँ।”
उहाँले धनगढी उपमहानगरपालिकाका मेयर गोपी हमालले सुरु गरेका पारदर्शी र परिणाममुखी कामहरूलाई उदाहरणका रूपमा उल्लेख गर्दै सोही अभ्यासलाई अझ संस्थागत गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै, भारतसँगको सुमधुर सम्बन्ध, राष्ट्रिय एकताको प्रतीकको संरक्षण र विधिको शासनलाई मजबुत बनाउने विषयमा पनि विशेष जोड दिनुभयो।
घरदैलो कार्यक्रमका क्रममा स्थानीय नागरिकहरूबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको छ। धेरै नागरिकहरूले उम्मेदवार चन्दको स्पष्ट दृष्टिकोण, पारदर्शिता र जवाफदेही नेतृत्वप्रतिको प्रतिबद्धतालाई सराहना गर्दै साथ र समर्थन रहने बताएका छन्। धनगढी बजारदेखि बस्ती–बस्तीमा पुग्दा “हामी साथ दिन्छौँ” भन्ने जनआवाज थप बलियो बन्दै गएको देखिन्छ।
कैलाली क्षेत्र नम्बर–५ मा विकास, सुशासन र पारदर्शिताको नयाँ राजनीतिक अभ्यास सुरु गर्ने दृढ संकल्पसहित उम्मेदवार आनन्द बहादुर चन्दको घरदैलो अभियान जनअपेक्षा र विश्वासका साथ अगाडि बढिरहेको छ।
