माघ २०
कैलाली — खेलकुदले युवालाई अनुशासन, सहकार्य र मित्रतामा जोड्दै समाजमा सकारात्मक ऊर्जा प्रवाह गर्ने महत्वपूर्ण भूमिका खेलिरहेको नेपाली कांग्रेसका उम्मेदवार गोरखबहादुर बिष्ट ‘आनन्द’ ले बताएका छन्।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ अन्तर्गत गौरीगंगा नगरपालिका–५ अण्डैया बालुवाटारस्थित खेलकुद मैदानमा खेलाडीहरूसँग प्रत्यक्ष संवाद गर्दै उनले खेलकुदमार्फत युवाबीच आपसी सद्भाव, सम्मान र सहकार्यको संस्कार विकास हुने बताए।
उनले खेलकुदलाई स्वस्थ जीवनशैलीको आधारका रूपमा उल्लेख गर्दै युवालाई लागूऔषध दुव्र्यसनबाट जोगाउने प्रभावकारी माध्यम भएको स्पष्ट पारे। “आजको समयमा धेरै युवा बेरोजगारी र गलत संगतका कारण दुव्र्यसनतर्फ आकर्षित भइरहेका छन्,” उनले भने, “यदि युवालाई खेलकुदमा सक्रिय बनाउन सकियो भने उनीहरूलाई सही दिशातर्फ मोड्न सकिन्छ।”
विकसित मुलुकहरूमा प्रत्येक समुदायमा खेलमैदान, व्यायामशाला र मनोरञ्जन केन्द्र निर्माण गरिने उदाहरण प्रस्तुत गर्दै उनले नेपालमा पनि खेलकुद पूर्वाधार विस्तार अपरिहार्य भएको बताए। सोही अनुसार आफ्नो निर्वाचन घोषणापत्रमा युवामैत्री खेलकुद स्टेडियम, खुला मैदान र आधुनिक व्यायामशाला निर्माणका योजना समावेश गरिएको जानकारी उनले दिए।
खेलकुदले युवालाई सामाजिक उत्तरदायित्वबोध गराउँदै राष्ट्र निर्माणको प्रक्रियामा सक्रिय बनाउने उल्लेख गर्दै उनले खेलाडीहरूले अनुशासन, नेतृत्व र सहनशीलताको पाठ खेलमैदानबाटै सिक्ने बताए। साथै खेलकुदले रोजगारी र आत्मनिर्भरताको बाटो खोल्ने धारणा उनले व्यक्त गरे।
“खेलकुदका माध्यमबाट युवाले देश तथा विदेशमा आफ्नो क्षमता प्रस्तुत गर्न सक्छन्,” उनले भने, “राम्रो खेलाडी उत्पादन भएमा प्रतियोगितामार्फत आयआर्जन गर्न सकिने मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा देशको पहिचान समेत बढ्छ।”
उनले स्थानीय तह, विद्यालय र समुदायको सहकार्यमा नियमित खेलकुद गतिविधि सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै युवाहरूलाई खेलकुदमैत्री वातावरण सिर्जना गर्न सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिए।
