हेमा भट्ट माघ २०
कृष्णपुर, कञ्चनपुर — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ मा आगामी प्रतिनिधि सभा निर्वाचन यसपटक फरक र विशेष बनेको छ। एउटै परिवारका दुई फरक राजनीतिक धारका उम्मेदवार मैदानमा उत्रिएपछि यहाँको चुनावी माहोल थप चासोपूर्ण, रोचक र चर्चित बनेको छ। स्थानीय राजनीतिमा दुर्लभ मानिने यस्तो अवस्थाले मतदाता मात्र होइन, राजनीतिक वृत्तको समेत ध्यान खिचेको छ।
कृष्णपुर नगरपालिका–९ पच्ढक्की निवासी तौला राना नेपाली कांग्रेसको लामो समयदेखि सक्रिय नेता हुन्। उहाँलाई पार्टीले समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरेको छ। पूर्व रैकवार बिचवा गाविसका उपाध्यक्षसमेत रहनुभएका रानाले संगठन निर्माण, स्थानीय विकास र पार्टी सुदृढीकरणमा उल्लेखनीय योगदान पुर्याउँदै आउनुभएको छ। कांग्रेस समर्थक मतदाताले उहाँलाई अनुभवी, संयमी र भरोसायोग्य नेता मान्दै आएका छन्।
यता, तौला रानाका भतिजा विरेन्द्र राना स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा छन्। ‘सिरिन्ज’ चुनाव चिन्ह लिएर उत्रिएका विरेन्द्रले विशेषगरी युवामाझ नयाँ सोच, परिवर्तन र वैकल्पिक राजनीतिको प्रतिनिधि भएर आफ्नो उपस्थिति देखाएका छन्। उहाँको अभियानले स्थानीय युवाहरूको उल्लेखनीय आकर्षण पाएको छ।
कञ्चनपुर–२ मा नेपाली कांग्रेसबाट नारायण प्रसाद साउद (रुख), नेकपा एमालेबाट बचन सिंह (सुर्य), नेपाली कम्युनिस्ट पार्टीबाट माधव पन्त (तारा) तथा स्वतन्त्र उम्मेदवारका रूपमा दिपक बोहरा (घण्टी) लगायत अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। तर एउटै घरबाट दुई फरक धारका उम्मेदवार हुनु यस निर्वाचनलाई विशेष बनाएको छ।
स्थानीयवासीका अनुसार एउटै परिवारभित्र फरक राजनीतिक सोचसहित उम्मेदवारी आउनु सामान्य घटना होइन। यसले मतदाता मात्रै होइन, राजनीतिक विश्लेषकलाई समेत सोच्न बाध्य बनाएको छ। मतदाताबीच ‘अनुभवी नेतृत्व रोज्ने कि नयाँ विकल्प रोज्ने’ भन्ने द्विविधा देखिएको छ।
स्थानीय युवाहरू विरेन्द्र रानालाई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन र युवामैत्री कार्यक्रममा स्पष्ट धारणा राख्ने उम्मेदवारका रूपमा मूल्याङ्कन गरिरहेका छन्। उता, तौला रानाको लामो राजनीतिक अनुभव, संगठनप्रतिको निष्ठा र स्थानीय तहमा पुर्याएको योगदानलाई पनि मतदाताले उच्च प्राथमिकतामा राखेका छन्।
यसरी एउटै घरबाट पार्टी र स्वतन्त्र राजनीतिक धारको संयोजनसहित देखिएको उम्मेदवारीले कञ्चनपुर–२ को चुनावी प्रतिस्पर्धालाई अझ रोचक र अर्थपूर्ण बनाएको छ। अन्ततः मतदाताले गर्ने निर्णयले यस क्षेत्रको भावी राजनीतिक दिशा तय गर्नेछ।
