निर्वाचनअघि कडा निगरानी: नेपाल–भारत सीमा ७२ घण्टा बन्द हुने

माघ २३
कञ्चनपुर/विराटनगर —
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल–भारत सीमा क्षेत्रमा कडा सुरक्षा व्यवस्था लागू गरिने भएको छ। सशस्त्र प्रहरी बल नेपालले निर्वाचनभन्दा ७२ घण्टा अगावै सम्पूर्ण सीमा नाका बन्द गर्ने निर्णय गरेको हो।

उक्त निर्णय शुक्रबार (माघ २३) मोरङको विराटनगरमा सम्पन्न सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच भएको १६औँ डीआईजी स्तरीय समन्वय बैठकबाट भएको हो।

बैठकमा सीमा सुरक्षालाई अझ प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो। दुवै पक्षबीच सूचनाको आदान–प्रदान, तेस्रो मुलुकका नागरिकको अवैध प्रवेश नियन्त्रण, मानव बेचबिखन, नक्कली मुद्रा, हातहतियार तथा लागुऔषध ओसार–पसार रोकथाम जस्ता संवेदनशील विषयहरू प्राथमिकतामा राखिएको थियो।

त्यसैगरी सीमा स्तम्भको संरक्षण, यात्रु सहजीकरण, संयुक्त गस्ती, विपद् उद्धार अभ्यास तथा आपसी खेलकुद गतिविधि सञ्चालन गर्दै सीमा क्षेत्रमा आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने सहमति भएको छ।

सीमा क्षेत्रका सम्भावित जोखिमयुक्त नाकाहरू पहिचान गरी खतरा मूल्यांकन, शरणार्थी तथा आप्रवासी गतिविधिमाथि निगरानी, विभिन्न तहका चेक प्वाइन्ट स्थापना, आपराधिक तत्वको घुसपैठ नियन्त्रण र सीमा क्षेत्रमा मादक पदार्थको बिक्री–वितरण तथा सेवनमा पूर्ण प्रतिबन्ध लगाउने विषयमा पनि स्पष्ट रणनीति तय गरिएको छ।

बैठकमा सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति नायब महानिरीक्षक कुमार न्यौपानेले नेपाल–भारत सीमा केवल भौगोलिक रेखा मात्र नभई मित्रता र सहकार्यको प्रतीक भएको उल्लेख गरे।

यस्तै, भारतीय सशस्त्र सीमा बलका डीआईजी सरोजकुमार ठाकुरले नेपाल–भारत सीमा क्षेत्रलाई आगामी दिनमा अझ सुरक्षित, मजबुत र विश्वासिलो बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे।

निर्वाचनलाई शान्त, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गराउन सीमा क्षेत्रमा हुने यो कडाइलाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply