हेमा भट्ट माघ २४
कैलाली – गरिबीको बोझ, परिवारको सपना र उज्यालो भविष्यको आशा बोकेर भारत पुगेका कैलालीको गोदावरी नगरपालिका–१ निवासी २२ वर्षीय संगम नेपाली अब कहिल्यै घर फर्किने छैनन्। होटलमा काम गरेर बुवा–आमाको दुःख कम गर्ने सपना बोकेका संगमको जीवन मुम्बईको भयन्दर क्षेत्रमा रहस्यमय रूपमा अन्त्य भयो। २०८२ माघ ८ गते घटेको उक्त घटनाले एउटा परिवार मात्र होइन, सिंगो समाजलाई स्तब्ध बनाएको छ।
संगमका बुवा अनिल नेपाली र आमा खुमा नेपाली आज छोरा गुमाएको पीडामा बोल्न सक्ने अवस्थामा छैनन्। “म घर आउँदै छु” भनेर पटक–पटक फोन गरिरहेका छोराको आवाज अहिले सम्झनामा मात्र सीमित बनेको छ। परिवारका अनुसार संगमले काम गर्ने होटलका मालिकबाट निरन्तर यातना (टर्चर) दिइएको कुरा घरमा जानकारी गराएका थिए। “म यहाँ बस्न सक्दिन, घर आउँछु” भन्दै उनले अन्तिम दिनसम्म फोन गरिरहे, तर त्यही बीचमा उनको हत्या भयो।
आफन्तका अनुसार संगम एक ठाउँमा काम गर्थे, अर्को ठाउँमा बस्दै आएका थिए भने घटनास्थल अर्कै स्थानमा देखाइएको छ। सीसी क्यामरामा अर्कै व्यक्तिलाई देखाएर ‘यही हो’ भनेर एकपटक मात्र देखाइएको र त्यसपछि कुनै थप जानकारी नदिइएको पीडित पक्षको गुनासो छ। “हामीलाई गुमराहमा राखियो,” आफन्तको भनाइ छ।
घटनापछि कहिले ‘सिडीबाट खसेको’, कहिले ‘सामान्य दुर्घटना’ जस्ता फरक–फरक कुरा सुनाइएको परिवार बताउँछ। पोस्टमार्टम रिपोर्टमा पनि गम्भीर चोट देखाइएको छैन भनिए पनि संगमको कानबाट रगत आएको, पछाडि चोटपटक देखिएको परिवारको दाबी छ। “हाम्रो कुरा कसैले सुनेन,” उनीहरूको पीडा शब्दमा अटाउँदैन।
परियार एकता समाज तथा आफन्तहरूको सहयोगमा ठूलो संघर्षपछि संगमको शव नेपाल ल्याउन सफल भएको परिवारले जनाएको छ। भारत पुग्न आफन्तलाई दुई–तीन दिन लागेको थियो। अन्ततः २०८२ माघ १३ गते अत्तरिया बजार नजिकै उनको शव घर ल्याइयो र विधिपूर्वक अन्तिम दाहसंस्कार गरियो। पुन्यतिथिका धार्मिक विधि अनुसार सहयोग र साथ दिएकोमा गुरु गणेश दत्त पन्तप्रति परिवारले आभार व्यक्त गरेको छ।
सपना बोकेर विदेशिएका संगम नेपालीको मृत्युले वैदेशिक रोजगारीमा रहेका हजारौँ युवाको असुरक्षित यथार्थ उजागर गरेको छ। रोजगारीको शिलशिलामा गुमाएको यो ज्यानले गरिब परिवारको आँसु कसले पुछ्ने ? छोराको हत्या भएको दाबी गर्दै न्यायको ढोका ढकढक्याइरहेका बुवा–आमाको आवाज कसले सुन्ने ?
आज अनिल र खुमा नेपाली एउटै प्रश्न दोहोर्याइरहेका छन्—“हाम्रो छोरो गुमायौँ, अब हामीलाई न्याय दिलाउने को छ ?”
यो खबर रैकवार खबर दैनिकलाई पीडित परिवारले जानकारी गराएको हो। संगमको मृत्यु केवल एउटा परिवारको पीडा मात्र होइन, श्रमजीवी नेपाली युवाको सुरक्षाका सवालमा गम्भीर सोच्न बाध्य बनाउने घटना बनेको छ। अब राज्य, सम्बन्धित निकाय र समाजले यो पीडामा न्यायको उज्यालो देखाउन ढिला गर्नु हुँदैन।
