अष्टम साना किसान सहकारीद्वारा ५० प्रतिशत अनुदानमा तरकारी र मकैको बिउ वितरण

कृष्ण केसी, माघ २५
बाँके — आर्थिक वर्ष २०८२/८३ को वार्षिक बजेट तर्जुमाअनुसार अष्टम साना किसान कृषि सहकारी संस्था लिमिटेडले आफ्ना १५ वटै सेवा केन्द्रमार्फत शेर सदस्य किसानहरूलाई तरकारीको बिउविजन तथा उन्नत एवं हाइब्रिड वसन्ते मकैको बिउ ५० प्रतिशत अनुदानमा वितरण गरेको छ।

संस्थाले महादेवपुरी सेवा केन्द्रसहित बैजापुर, विनौना, फतेपुर, सीतापुर, ढकेरी र गनापुर सेवा केन्द्रहरूबाट कुल १५ लाख ८५ हजार रुपैयाँ बराबरको बिउ ५०–५० प्रतिशत अनुदानमा वितरण गरेको हो। किसानमैत्री र उत्पादनमुखी उद्देश्यसहित सञ्चालन गरिएको यस कार्यक्रमले किसानहरूमा उत्साह थपिएको छ।
कार्यक्रमअन्तर्गत वितरण गरिएको मकै संस्थाले स्वयं खरिद गर्ने व्यवस्था गरिएको छ। यसले किसानलाई बजारको अनिश्चितता र मूल्यको चिन्ताबाट मुक्त गराउने विश्वास गरिएको छ। पछिल्लो समय चर्को मूल्यमा बिउ खरिद गर्न बाध्य किसानहरूलाई राहत दिनुका साथै उत्पादन वृद्धि र बाँझो जमिनलाई उत्पादनमुखी बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको संस्थाले जनाएको छ।

संस्थाका मुख्य प्रबन्धक हरिश्चन्द्र केसीका अनुसार भुई किसानहरू राज्यबाट प्राप्त गर्नुपर्ने सेवा तथा सुविधाबाट वञ्चित हुँदै आएको अवस्थामा सहकारीले थोरै भए पनि राहत पुर्‍याउने लक्ष्य लिएको हो। “किसानको लागत घटाएर उत्पादन बढाउन र उनीहरूलाई आत्मनिर्भर बनाउने हाम्रो मुख्य उद्देश्य हो,” उहाँले भन्नुभयो।

अष्टम साना किसान कृषि सहकारीले आर्थिक वर्ष २०८२/८३ का लागि सामाजिक तथा सामुदायिक विकासतर्फ १ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। सो बजेटबाट सिँचाइका लागि धारा तथा खोरगढ सुधार, पशु नस्ल सुधारका लागि राँगा क्षमता वृद्धि, साथै सिलाइ–कटाइ तालिम, अचार बनाउने तालिमजस्ता सीपमूलक कार्यक्रमहरू समेत सञ्चालन भइरहेको छ।

कृषि र किसानको जीवनस्तर उकास्न सहकारीले थालेका यस्ता पहलहरूले स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना र ग्रामीण अर्थतन्त्र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply