नेकपा संसदीय दलको नेता खगराज भट्ट

हेमा भट्ट, माघ २५
सुदूरपश्चिम प्रदेश सभामा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को शक्ति थप सुदृढ बन्दै गएको छ। नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी (नाउपा) बीच भएको ऐतिहासिक एकतापछि गठित नेकपाको प्रदेश सभा संसदीय दलको नेतामा खगराज भट्ट सर्वसम्मत रूपमा चयन भएका छन्।
एकीकरणपछि बसेको पहिलो संसदीय दलको बैठकले ज्येष्ठ सदस्य टिका थापाको अध्यक्षतामा भट्टलाई दलको नेता चयन गरेको हो। बैठकमा सहभागी सबै सदस्यहरूले भट्टको नेतृत्व क्षमतालाई उच्च मूल्यांकन गर्दै सर्वसम्मत निर्णयमा पुग्नुले पार्टीभित्रको एकता, विश्वास र राजनीतिक स्थायित्वको सन्देश दिएको छ।
नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीबीच भएको एकतापछि नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दलका रूपमा स्थापित भएको छ। एकताअघि प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११ जना, एकीकृत समाजवादीका ४ जना र नाउपाका ७ जना सदस्य थिए। एकीकरणसँगै नेकपाको सिट संख्या २२ पुगेको छ।
नेकपाले नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टीसँग पुस १४ गते औपचारिक एकता सहमति गरेको थियो। उक्त सहमतिलाई प्रदेशस्तरमा कार्यान्वयन गर्दै पार्टीलाई संस्थागत र संगठित रूपमा अघि बढाइएको नेताहरूले बताएका छन्।
५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा हाल सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेससँग १८ सिट रहेका छन् भने नेकपा एमालेका ११ सिट छन्। हाल प्रदेशमा एमाले–कांग्रेस गठबन्धनको सरकार रहेको छ। संघीयता विरोधी दल राप्रपाको एक सिट रहेको छ भने स्वतन्त्र सांसद डा. तारा जोशीले राजीनामा दिइसकेका छन्।
नवगठित नेकपाले प्रदेश सभामा सबैभन्दा ठूलो दलको हैसियत कायम गरेसँगै अब सुदूरपश्चिमको राजनीति थप सशक्त, वैकल्पिक र जनमुखी दिशातर्फ अघि बढ्ने अपेक्षा गरिएको छ। संसदीय दलका नेता खगराज भट्टले पार्टीको एकतालाई जनताको पक्षमा नीतिगत र व्यवहारिक रूपमा रूपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
राजनीतिक विश्लेषकहरूका अनुसार वामपन्थी शक्तिहरूको यो एकताले सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरणमा नयाँ ऊर्जा थपेको छ। आगामी दिनमा प्रदेश सरकार र प्रतिपक्षबीचको भूमिका अझ प्रभावकारी हुने विश्वास लिइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply