हेमा भट्ट, फागुन २
कैलाली, फागुन १४ – नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रेम बहादुर आले ले कैलाली क्षेत्र नं. ५ का जनतालाई लक्षित समग्र विकास घोषणापत्र सार्वजनिक गर्दै क्षेत्रको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा नयाँ दृष्टिकोण प्रस्तुत गरेका छन्।
उम्मेदवार आलेका प्राथमिकतामा सुशासन, रोजगार सिर्जना, समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्र संरक्षण रहेका छन्। उनले क्षेत्रका युवालाई खेलकुद र अनुशासनमा जोड्दै धनगढी–फाप्लामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने योजना सार्वजनिक गरेका छन्। यस परियोजनाले केवल खेलकुद प्रवर्द्धन नगरी युवालाई राष्ट्र निर्माणमा सक्रिय सहभागी बनाउने लक्ष्य राखेको छ।
स्वास्थ्य क्षेत्रमा आलेले शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अन्तर्गत ३००–६०० शैयाको आधुनिक अस्पताल सञ्चालन गर्ने योजना प्रस्तुत गरेका छन्। यस अस्पतालमा MBBS र अन्य स्वास्थ्यसम्बन्धी विषयहरूको अध्यापन सुरु हुने छ। साथै, सिकलसेल र विशिष्ट रोगीहरूको उपचारका लागि छुट्टै वार्ड स्थापना गरिने, अनुसन्धान र नवप्रविधिको प्रयोग प्रवर्द्धन गरिने योजना समेत उनले अघि सारेका छन्।
पूर्वाधार सुधारका लागि उनले धनगढी–खुटीया–दिपायल–बझाङ–उरै भञ्ज्याङ्ग जोड्ने त्रिदेशीय सडक, नदी किनारका जमिन र बस्ती सुरक्षित गर्न दीर्घकालिन तटबन्धन, ग्रामिण सडक सुधार, पक्की पुल र बसपार्क निर्माण कार्यलाई प्राथमिकतामा राखेका छन्।
युवालाई स्वरोजगारमुखी बनाउन प्रदेशस्तरीय तालिम केन्द्र स्थापना, प्राविधिक तथा व्यवसायिक शिक्षा प्रवर्द्धन गर्ने योजना छ। त्यस्तै, वनस्पति उद्यान, जाखोर ताल र अन्य धार्मिक तथा पर्यटकीय स्थलको विकास गरेर क्षेत्रको पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य पनि उनीका योजनामा समावेश छ।
सामाजिक विकासमा पनि प्रेम बहादुर आलेले विशेष जोड दिएका छन्। भूमिहीन तथा सुकुम्बासीका लागि लालपुर्जा वितरण, सुरक्षित आवास कार्यक्रम, किसानलाई आधुनिक कृषि प्रविधि र सिचाइ पहुँच, महिला सशक्तिकरण, अल्पसंख्यक तथा सीमांतकृत समुदायको अधिकार सुनिश्चितता, साथै सांस्कृतिक संरक्षण र प्रवर्द्धन उनीका मुख्य लक्ष्य हुन्।
उद्योग, व्यापार, शिक्षा, सामाजिक सेवा, मानव कल्याण र सुरक्षा क्षेत्रमा उल्लेखनीय पहल गर्दै, साझा विकास र नयाँ सोचमार्फत कैलाली क्षेत्रलाई समृद्ध बनाउने प्रेम बहादुर आलेको लक्ष्य स्पष्ट छ। आले भन्छन्,साझा विकास सबको साथ। नयाँ सोच, नयाँ अठोट। तारा चिन्हमा भोट।
