एनआरएनए) नर्वे प्रतिनिधिद्वारा पुनर्वासका विपन्न बालबालिकालाई ट्र्याकसुट सहयोग

धनबहादुर बिक
पुनर्वास, ३ फागुन
नर्वेमा कार्यरत Non-Resident Nepali Association (एनआरएनए) का प्रतिनिधिहरूद्वारा पुनर्वासस्थित बागीश्वरी माध्यमिक विद्यालय मा अध्ययनरत गरिब तथा विपन्न बालबालिकालाई ट्र्याकसुट तथा टिसर्ट खरिदका लागि आर्थिक सहयोग प्रदान गरिएको छ।

नेपालका विभिन्न स्थानका स्थायी बासिन्दा भई हाल वैदेशिक रोजगारीका सिलसिलामा नर्वेमा रहेका ७ जना एनआरएनए प्रतिनिधिहरूले पठाएको कुल रु २ लाख ७९ हजार ५०० रकमबाट विद्यालयका बालकक्षादेखि कक्षा ७ सम्म अध्ययनरत १९२ जना विद्यार्थीका लागि ट्र्याकसुट र टिसर्ट खरिद गरी वितरण गरिएको विद्यालयका प्रधानाध्यापक डिल्ली प्रसाद शर्माले जानकारी दिए।

सहयोग रकममध्ये पुनर्वास नगरपालिका–८ का प्रदीप शर्माबाट रु १ लाख, काठमाडौँ बुढानिलकण्ठ–४ घर भई हाल नर्वेमा बस्दै आएका देव श्रेष्ठबाट रु ४७ हजार, पोखरा महानगरपालिका–२५ देम्जा लामाचौर घर भई नर्वेमा रहेका शारदा सिंहबाट रु ३७ हजार ५००, सहिद लखन गाउँपालिका गोरखा घर भई नर्वेमा कार्यरत रिता परियारबाट रु ३२ हजार, काठमाडौँ टोखा घर भएका रूपेश श्रेष्ठबाट रु २२ हजार ५००, हेटौंडा–२ मकवानपुरका असिम लम्सालबाट रु २२ हजार ५०० तथा सागर घिसिङबाट रु १८ हजार सहयोग प्राप्त भएको जनाइएको छ।

विपन्न तथा जेहेन्दार विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले एनआरएनए नर्वे प्रतिनिधिद्वारा उक्त आर्थिक सहयोग प्रदान गरिएको हो। सहयोग कार्यक्रम पुनर्वास नगरपालिका प्रमुख तोय प्रसाद शर्माको विशेष उपस्थितिमा, विद्यालय व्यवस्थापन समिति, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको सहभागितामा एक विशेष समारोहबीच सम्पन्न भएको थियो।

कार्यक्रममा बोल्दै एनआरएनए नर्वे प्रतिनिधिहरूले विदेशमा रहे पनि मातृभूमिप्रतिको दायित्व र सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै शिक्षा क्षेत्रमा सहयोग गर्न पाउँदा खुसी लागेको बताएका थिए।

विद्यालय प्रशासनले यस्ता सहयोगले आर्थिक अभावका कारण पछाडि परेका विद्यार्थीलाई अध्ययनमा निरन्तरता दिन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेको छ। ट्र्याकसुट वितरणपछि बालबालिकामा उत्साह र खुसी छाएको थियो।

स्थानीय सरोकारवालाहरूले यस्ता सामाजिक कार्यले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्ने र अन्य दातालाई पनि सहयोगका लागि प्रेरित गर्ने बताएका छन्। भविष्यमा पनि यस्ता सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply