फागुन ५
हेमा भट्ट, कैलाली — २०६० मंसिर २५ मा स्थापना भएको श्री शिवपुरी सामुदायिक वन उपभोक्ता समूहले ६०.५८ हेक्टर क्षेत्रफलमा फैलिएको वन क्षेत्रको संरक्षण गर्दै नमुना अभ्यास अघि बढाइरहेको छ। यसमा ६५० भन्दा बढी उपभोक्ता आबद्ध छन् र सामूहिक सहभागिता, पारदर्शी व्यवस्थापन र दीगो उपयोगको दृष्टान्त प्रस्तुत गर्दै आएको छ। वन क्षेत्रमा साल, सिसौ, खैर र टिकजस्ता बहुमूल्य काठजन्य प्रजातिहरू पाइन्छ। जैविक विविधताले भरिपूर्ण यस क्षेत्रमा विभिन्न चराचुरुङ्गी, साना स्तनधारी र अन्य वन्यजनावरको वासस्थान सुरक्षित रहेको छ। स्थानीयहरूको सक्रिय निगरानी र संरक्षण अभियानका कारण वनको हरियाली वर्षेनि बढ्दै गएको छ।

डिभिजन वन कार्यालयको स्वीकृतिअनुसार यहाँ घाइते, टुहुरा तथा बिरामी वन्यजनावरको उपचार र स्याहार–सुसार भइरहेको छ। सचिव लक्ष्मण दत्त बिष्ट, कर्मचारी डम्बरराज पनेरू र वन हेरालु गंगा कुमारी शाहीको सक्रियतामा वन संरक्षण अभियान निरन्तर सञ्चालनमा छ। स्थानीयहरूको अनुसार, दुर्घटना वा शिकारीको जोखिममा परेका जनावरलाई उद्धार गरी उपचारपछि पुनः वनमै छोड्ने अभ्यास गरिएको छ। यसले वनलाई संरक्षण केन्द्र मात्र नभई मानवीय संवेदनाको थलोको रूपमा पनि चिनाएको छ।
उपभोक्ता समूहले वन क्षेत्रमा सानो स्तरको प्राणी उद्यान (जुहू), पिकनिक स्थल, बाल उद्यान, अध्ययन–अनुसन्धान केन्द्र र वन अवलोकन ट्रेल स्थापना गर्ने प्रस्ताव अघि सारिसकेको छ। स्थानीय युवाहरूका अनुसार यस्तो परियोजनाले प्रत्यक्ष रूपमा रोजगारी सिर्जना गर्नेछ भने अप्रत्यक्ष रूपमा होटल, यातायात, कृषि उत्पादन र हस्तकलाजस्ता क्षेत्रमा आम्दानी बढाउनेछ।

समूहले नगदे बाली प्रवर्द्धन, जडीबुटी खेती, मौरीपालन, कुखुरापालन र वनमै आधारित साना उद्योग सञ्चालनका लागि पनि स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ। उनीहरूको भनाइ अनुसार, उचित लगानी र स्पष्ट नीति भए यो वन क्षेत्र सामुदायिक आम्दानीको दिगो स्रोत बन्न सक्छ।
वन व्यवस्थापन समितिले पर्यटन पूर्वाधार विकासका लागि घेराबार, सूचना केन्द्र, शौचालय, विश्रामस्थल र सडक पहुँच विस्तार आवश्यक रहेको जनाएका छन्। तर हालसम्म सम्बन्धित निकायबाट ठोस निर्णय नआएको उनीहरूको गुनासो छ।
कार्यालय सचिव लक्ष्मण दत्त बिष्टले स्थानीय सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भने, “हामीले पटक–पटक स्थानीय तह र प्रदेश सरकारलाई वनको सम्भावना, प्राणी उद्यान स्थापना र आयआर्जन कार्यक्रमबारे जानकारी गराएका छौं। लिखित तथा मौखिक रूपमा ध्यानाकर्षण गराउँदा पनि ठोस पहल भएको छैन। वन जोगाउन मात्र होइन, यसलाई रोजगारी सिर्जना गर्ने केन्द्रका रूपमा विकास गर्न सकिन्छ भन्ने हाम्रो धारणा हो। तर आवश्यक बजेट, प्राविधिक सहयोग र नीतिगत समर्थनबिना सम्भावना कागजमै सीमित भएको छ।
अध्यक्ष कृष्ण पनेरूले भने, “सुदूरपश्चिमको मुटुमा रहेको यो वन संरक्षणको नमुना मात्र होइन, आर्थिक समृद्धिको केन्द्र बन्न सक्छ। स्थानीय र प्रदेश सरकारले सहकार्य नगरे सम्म सम्भावना कागजमै सीमित रहनेछ। वनमा चिल्ड्रेन पार्क छ, तर सुधार आवश्यक छ। हामी यसलाई पर्यटक र समुदाय दुवैका लागि आकर्षक बनाउने योजना बनाएका छौं।
श्री शिवपुरी सामुदायिक वनले संरक्षण, वन्यजनावर उद्धार, पर्यटन प्रवर्द्धन र आयआर्जन कार्यक्रम समेटेर सुदूरपश्चिमकै नमुना परियोजना बन्ने क्षमता बोकेको छ। वनको हरियालीलाई केवल कागजमा सीमित राख्ने कि यसलाई रोजगारी र आर्थिक समृद्धिको वास्तविक केन्द्र बनाउने भन्ने निर्णय स्थानीय र प्रदेश सरकारको सहकार्यमा निर्भर देखिन्छ।
