कञ्चनपुर–१ बाट बीना मगर पुनः प्रतिनिधि सभा दौडमा

कञ्चनपुर, फागुन ७ — कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ बाट पूर्वमन्त्री बीना मगर पुनः प्रतिनिधि सभा सदस्यका लागि चुनावी मैदानमा उत्रिएकी छन्। नेकपा केन्द्रीय सदस्यसमेत रहेकी मगरले दीगो विकास, आधारभूत पूर्वाधार विस्तार र जनजीविकासँग जोडिएका मुद्दालाई प्राथमिकतामा राख्दै उम्मेदवारी घोषणा गरेकी हुन्।

मगर २०७४ सालमा यही क्षेत्रबाट निर्वाचित भई संघीय सरकारमा सहभागी भएकी थिइन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा उनले खानेपानी मन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। सुदूरपश्चिम प्रदेशबाट पहिलो पटक महिला फुलमन्त्री बन्ने अवसर पाएकी मगरले आफ्नो कार्यकालमा खानेपानी तथा ढल व्यवस्थापनका पूर्वाधार योजना विस्तारमा जोड दिएकी थिइन्। ग्रामीण बस्तीमा स्वच्छ पानी पुर्‍याउने, शहरी क्षेत्रमा ढल निकास सुधार गर्ने र दीर्घकालीन खानेपानी आयोजनाहरू अघि बढाउने प्रयास उनले गरेको उनका समर्थकहरूको दाबी छ।

मगरको चुनावी यात्रा उतारचढावपूर्ण रहँदै आएको छ। २०७० सालमा पहिलो पटक उम्मेदवार बनेकी उनी झिनो मतान्तरले पराजित भएकी थिइन्। त्यसपछि २०७४ मा दोब्बर मतान्तरले विजयी हुँदै संघीय संसदमा पुगेकी थिइन्। २०७९ को निर्वाचनमा भने पराजित भए पनि उनले उल्लेख्य मत प्राप्त गरेकी थिइन्। यसपटक उनी चौथो प्रयासका रूपमा पुनः मतदातामाझ पुगेकी छन्।

पुनर्वास क्षेत्रकी मगर विद्यार्थी राजनीतिबाट उदाएकी नेतृ हुन्। अखिल (क्रान्तिकारी) मार्फत संगठन निर्माणमा सक्रिय रहँदै उनले काठमाडौंमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी थिइन्। राजनीतिक संघर्षका क्रममा गिरफ्तारी र यातनासमेत भोगेकी मगर शान्ति प्रक्रियापछि खुला राजनीतिमा सक्रिय रहँदै आएकी छन्।
उनले यसपटक धुलो–हिलोमुक्त सडक निर्माण, नदी–खोलामा पुल विस्तार, खानेपानी तथा सिँचाइ सुविधा सुधार, शिक्षा र स्वास्थ्य सेवाको पहुँच वृद्धि, रोजगारी सिर्जना र महिला सशक्तीकरणलाई प्राथमिक एजेण्डा बनाएकी छन्। “अधुरा विकासका कामलाई पूर्णता दिन र जनताको आधारभूत समस्या समाधान गर्न पुनः उम्मेदवारी दिएको हुँ,” उनले संक्षिप्त प्रतिक्रिया दिएकी छन्।

कञ्चनपुर–१ मा १ लाख १ हजार ७२४ मतदाता रहेका छन्, जसमा महिला मतदाताको संख्या पुरुषभन्दा बढी छ। ३२ वडा समेटिएको यस क्षेत्रमा ५२ मतदान स्थल र १२२ मतदान केन्द्र तोकिएका छन्।

गत निर्वाचनमा एमालेका तारालामा तामाङ विजयी भएका थिए। यसपटक पनि क्षेत्र प्रतिस्पर्धात्मक रहने आकलन गरिएको छ।

बीना मगरको उम्मेदवारीसँगै कञ्चनपुर–१ मा चुनावी माहोल तातेको छ। विकास, अनुभव र राजनीतिक निरन्तरताका आधारमा मतदाताको विश्वास पुनः प्राप्त गर्न उनी सक्रिय रूपमा घरदैलो अभियानमा जुटेकी छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply