धर्मराज कठायत, फागुन ८
कञ्चनपुर निर्वाचन क्षेत्र–३ यतिबेला नयाँ राजनीतिक बहसको केन्द्र बनेको छ। दशकौँदेखि प्रतिनिधित्वको अवसरबाट वञ्चित दलित समुदाय यसपटक आफ्नै समुदायका उम्मेदवारलाई केन्द्रीय संसदमा पुर्याउने अभियानमा खुलेर मैदानमा उत्रिएको छ। दोधाराचाँदनी–७ बाबाथानका मान बहादुर सुनारलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउन दलित समुदाय मात्र होइन, अन्य समुदायका मतदाता पनि उत्साहित देखिएका छन्।
पञ्चायतकालदेखि गणतान्त्रिक व्यवस्थासम्म आइपुग्दा क्षेत्र–३ बाट दलित समुदायको कोही पनि केन्द्रीय सांसद बन्न नसकेको तथ्य अहिलेको राजनीतिक बहसको आधार बनेको छ। विगतमा ठूला दलहरूले दलित समुदायलाई “भोट बैंक” का रूपमा मात्र प्रयोग गरेको आरोप लाग्दै आएको थियो। तर यसपटक ले मान बहादुर सुनारलाई उम्मेदवार बनाएको विषयलाई दलित समुदायले ऐतिहासिक अवसरका रूपमा लिएको छ।
नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ले अघि सारेको समावेशी राजनीतिक अभ्यासलाई स्थानीयस्तरमा सकारात्मक सन्देशका रूपमा व्याख्या गरिएको छ। विभिन्न दलमा आबद्ध दलित नेताहरू समेत सुनारको पक्षमा खुलेर लागिरहेका छन्।
मान बहादुर सुनार चार दशकदेखि सक्रिय राजनीतिमा छन्। २०४९ सालमा तत्कालीन दोधारा गाविस अध्यक्ष बनेर स्थानीय शासनको नेतृत्व गरेका उनले २०७४ सालमा प्रदेश सभा सदस्यका रूपमा विजयी हुँदै भूमि व्यवस्था तथा कृषि राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। छोटो अवधिमै कृषि, विपद् व्यवस्थापन र पूर्वाधार विकासमा देखिएको सक्रियताले उनलाई क्षेत्रमै लोकप्रिय बनायो।
उनले शिक्षा क्षेत्रमा पनि उल्लेखनीय योगदान दिएका छन्। दोधाराचाँदनीमा उच्च शिक्षाको पहुँच विस्तार गर्न ७ कट्टा निजी जमिन दान दिँदै स्थापनामा महत्वपूर्ण भूमिका खेलेका थिए। करोडौँ मूल्य बराबरको अचल सम्पत्ति दान गर्नु उनको सामाजिक प्रतिबद्धताको उदाहरण मानिन्छ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनअन्तर्गत सहकार्य गरेका नेताहरू अहिले आमनेसामने छन्। त्यतिबेला संघीयतर्फ विजयी भएका यसपटक सुनारका प्रमुख प्रतिस्पर्धी मानिन्छन्। यद्यपि स्थानीय तहमा सुनारप्रतिको भरोसा बलियो देखिन्छ।
दोधाराचाँदनी नगरका स्थानीयहरूको भनाइमा, यसपटक “मेरो–तेरो पार्टी” भन्दा माथि उठेर क्षेत्रीय सन्तुलन र समावेशी प्रतिनिधित्वलाई प्राथमिकता दिने वातावरण बनेको छ। महाकाली पारीका बस्तीहरूको दीगो विकास, शिक्षा र पूर्वाधार विस्तारका एजेन्डाले चुनावी बहसलाई दिशा दिएको छ।
आउँदो २१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचन कञ्चनपुर–३ का लागि मात्र नभई समावेशी राजनीतिका लागि पनि परीक्षणको घडी मानिएको छ। दलित समुदायबाट सिधै केन्द्रीय संसदमा प्रतिनिधित्व गराउने लक्ष्यसहित अघि बढेको यो अभियानले क्षेत्रको राजनीतिक इतिहासमा नयाँ अध्याय थप्ने अपेक्षा गरिएको छ।
अब मतदाताको निर्णयले तय गर्नेछ—यो लहर इतिहास बन्छ कि केवल चुनावी उत्साहमै सीमित रहन्छ।
