फागुन १०
धनगढी – सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले मुस्लिम समुदाय पछिल्लो समय अधिकार र अवसरमा क्रमशः पहुँच स्थापित गर्दै अघि बढिरहेको बताएका छन्। आर्थिक वर्ष २०८१/०८२ को सातौँ वार्षिक प्रतिवेदन बुझ्दै उनले मुस्लिम समुदायको हक–अधिकार संरक्षण र प्रवर्द्धनमा मुस्लिम आयोगले सार्थक भूमिका खेलेको उल्लेख गरे।
उनले आयोगलाई संविधानले व्यवस्था गरेको महत्वपूर्ण निकायका रूपमा चित्रण गर्दै यसको सक्रियता र प्रभावकारिताको प्रशंसा गरे। प्रतिवेदनमा उठाइएका विषयहरू प्रदेश सभामा समेत प्रवेश हुने जनाउँदै उनले समस्या समाधानमा प्रदेश सरकार जिम्मेवार ढंगले अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे।

आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले वार्षिक प्रतिवेदन पेश गर्दै गत वर्षका कार्यक्रम, उपलब्धि र प्रभावबारे जानकारी गराए। देशभरका करिब १५ लाख मुस्लिम समुदायले आयोगलाई विश्वासको केन्द्रका रूपमा लिएको उनको भनाइ थियो। आयोगमा दुई पद रिक्त रहेकाले पदपूर्ति भएपछि कार्यक्षमता अझ सुदृढ हुने अपेक्षा उनले व्यक्त गरे।
पेश गरिएको प्रतिवेदनमा आयोगका गतिविधि, निर्णय, वार्षिक योजना, चुनौती तथा मुस्लिम समुदायसम्बन्धी तथ्यांक समेटिएको छ। राष्ट्रिय जनगणना २०७८ अनुसार देशको कुल जनसंख्यामा ५.०९ प्रतिशत मुस्लिम समुदायको हिस्सा रहेको छ। प्रदेशगत रूपमा मधेश प्रदेशमा १३.२८ प्रतिशतसहित सबैभन्दा बढी र कर्णाली प्रदेशमा ०.२१ प्रतिशतसहित सबैभन्दा कम मुस्लिम जनसंख्या रहेको छ। सुदूरपश्चिम प्रदेशमा मुस्लिम समुदायको जनसंख्या ०.२६ प्रतिशत रहेको उल्लेख गरिएको छ।

