फागुन ११
आइसिसी टी-२० विश्वकपको सुपर-८ खेलमा दक्षिण अफ्रिकासँग आयोजक भारतीय टोली ७६ रनको फराकिलो पराजित भएपछि भारत र पाकिस्तानसहित विश्वभरका क्रिकेट विज्ञहरूले आ-आफ्नो प्रतिक्रिया दिइरहेका छन्।
सामाजिक सञ्जालमा पनि यो खेललाई लिएर व्यापक चर्चा भइरहेको छ। विशेषगरी दक्षिण अफ्रिकाको उत्कृष्ट प्रदर्शन, भारतीय टोलीको औसत खेल र युवा ब्याट्सम्यान अभिषेक शर्माको खराब फर्मका बारेमा धेरै कुरा भइरहेका छन्। यसबाहेक स्टार स्पोर्ट्सको एउटा विवादित विज्ञापन पनि चर्चाको विषय बनेको छ, जसलाई अहिले च्यानलबाट हटाइएको छ।
इंग्ल्यान्डका का पूर्व कप्तान माइकल भनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘दक्षिण अफ्रिकाले भारतलाई नराम्ररी हरायो। ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उनीहरू उत्कृष्ट देखिए।’
भारतका पूर्व क्रिकेटर मोहम्मद कैफले दक्षिण अफ्रिकाको बलिङलाई प्रशंसा गर्दै भारतको बलिङमा धेरै कमजोरी रहेको औंल्याएका छन्।
त्यस्तै, इरफान पठानले लेखेका छन्, ‘भारतीय टोलीको प्रदर्शन निराशाजनक रह्यो। हाम्रो ब्याटिङको संघर्षलाई दक्षिण अफ्रिकाका बलरहरूले उदाङ्गो पारिदिएका छन्।’
अहमदाबादमा भएको खेलमा दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै २० ओभरमा ७ विकेट गुमाएर १८७ रन बनाएको थियो। जसमा डेभिड मिलरले ३५ बलमा ६३ रनको विष्फोटक पारी खेलेका थिए। जवाफी ब्याटिङ गरेको भारत १११ रनमै अलआउट भएको थियो।
पाकिस्तानी पूर्व तीव्र बलर मोहम्मद आमिरले भारतीय ओपनिङ ब्याटर अभिषेक शर्मा ‘प्रोपर ब्याट्सम्यान’ नभएको बताएका छन्। उनले भने, ‘अभिषेक शर्मा फ्ल्याट पिचमा चल्छन्, तर दक्षिण अफ्रिका र अस्ट्रेलिया जस्ता बाउन्सी पिचमा उनको अझै परीक्षा हुन बाँकी छ।’ आमिरले भारतीय टोली सेमिफाइनलसम्म पनि नपुग्ने दाबी समेत गरे।
यद्यपि, सोही कार्यक्रममा उपस्थित अहमद शहजादले भने अभिषेक राम्रो खेलाडी भएको बताए। खेलपछि आमिरले फेरि भने, ‘जब भारतले राम्रो खेल्छ हामी तारिफ गर्छौं, तर त्यहाँबाट हामीलाई गाली मात्र आउँछ।’
पूर्व क्रिकेटर मोहम्मद युसुफ र शोएब अख्तरले पनि दक्षिण अफ्रिकाको अनुशासन र प्रदर्शनको तारिफ गर्दै भारतीय टोलीलाई आफ्नो कमजोरी सुधार्न सुझाव दिएका छन्।
खेलअघि पत्रकार सम्मेलनमा कप्तान सूर्यकुमार यादवलाई सञ्जु सामसनलाई टोलीमा राख्ने बारे सोधिएको थियो। सूर्यले हाँस्दै ‘के म उनलाई अभिषेक वा तिलकको ठाउँमा खेलाउँ?’ भन्दै ठट्टा गरेका थिए। तर खेलमा अभिषेक र तिलक दुवै असफल भएपछि सामाजिक सञ्जालमा प्रयोगकर्ताहरूले सूर्यको सोही बयानलाई लिएर उनलाई ‘घमण्डी’ भन्दै ट्रोल गरिरहेका छन्।
यो खेल अघि स्टार स्पोर्ट्सले एउटा विज्ञापन देखाएको थियो। जसमा दक्षिण अफ्रिकाका खेलाडीलाई ‘चोकर’ (महत्त्वपूर्ण खेलमा चुक्ने टोली) भन्दै गिज्याइएको थियो। विज्ञापनमा भारतीय खेलाडीले २०२४ को फाइनलको सम्झना गराउँदै दक्षिण अफ्रिकी खेलाडीलाई ‘हामीले कप जित्यौं र यो खेल पनि जित्छौं’भनेका थिए।
तर, भारतको हारपछि यो विज्ञापन सामाजिक सञ्जालमा भाइरल भयो र भारतीय प्रशंसकहरूले नै यसको आलोचना गरे। धेरैले यसलाई दक्षिण अफ्रिकाको अपमान भएको बताएका छन्। केही प्रयोगकर्ताहरूले लेखेका छन्, ‘यो विज्ञापन बनाउनेहरूका लागि एउटा पाठ हो कि अहंकार गर्नु कहिल्यै राम्रो हुँदैन।’
