काठमाडौँ, फागुन १२ गते । घुँडाको गम्भीर चोटको उपचार गर्न अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले अविस्कार गरेपछि समर्थक र फुटबल प्रेमीमा आर्थिक सहयोगका लागि अपिल गर्नुभएकी नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एवं सर्वाधिक गोल कर्ता सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि लाग्ने खर्च २४ घन्टा नपुग्दै जुटेको छ ।
नेपाली कांग्रेस पार्टीसहित विभिन्न संघ संस्था र ब्यक्तिबाट सहयोग एक करोड रुपियाँ भन्दाबढी रकम उठिसकेको छ । ‘साम्बा’ले सोमबार सामाजिक सञ्जाल फेसबुकमा भावुक स्टाटस लेख्दै आफु उपचारका लागि भौतारिएको भन्दै आर्थिक सहयोगका लागि समर्थक र फुटबल प्रेमीमा अपिल गर्नुभएको थियो ।
उहाँले उपलब्ध गराउनुभएको ब्यक्तिगत खाता नम्बर र क्युआर कोडमा देश तथा विदेशबाट सहयोग रकम जुटेको हो । ‘साम्बा’ ले मङ्गलबार सामाजिक सञ्जाल फेसबुकमा पुन: स्टाटस लेख्दै आफ्ना लागि उपचार रकम प्रयाप्त उठेको र खाता समेत बन्द रहेकोले अब सहयोग नगर्न आग्रह समेत गर्नुभएको छ । गोरखापत्र
