विकास सिंह महता, फागुन १७
कञ्चनपुर–१ की उम्मेदवार बीना मगर लाई विजयी गराउन नेपाल कम्युनिष्ट पार्टी बेलडाँडी संगठन चुनावी मैदानमा जुरुक्क उत्रिएको छ। यसपटक बेलडाँडीबाट सर्वोच्च मत दिलाउने संकल्पसहित गाउँ कमिटीदेखि भूगोलका नेता–कार्यकर्ता सक्रिय रूपमा घरदैलो अभियानमा खटिएका छन्।
पार्टीका प्रभावशाली नेता ईश्वरी भट्टले विगतका निर्वाचनको भन्दा उच्च जनमत दिलाउने लक्ष्यसहित फिल्डमा जुटेको बताए। उनका अनुसार ०६४ र ०७० को जनमत फर्काउँदै ०८२ मा अझ मजबुत नतिजा ल्याउने तयारी भइरहेको छ। अर्का नेता बीरबहादुर बडुवालले यसपटक सिङ्गो टिम सशक्त रूपमा परिचालित भएकाले नेकपाले राम्रो मत प्राप्त गर्ने दाबी गरे। “उम्मेदवारसहित हामी जनताको घर–घरमा पुगेर मत मागिरहेका छौं,” उनले भने।
नेकपा बेलडाँडीका संयोजक डम्बर शाहका अनुसार सबै वडा र बस्तीमा नेता–कार्यकर्तालाई जिम्मेवारी तोकी युद्धस्तरमा परिचालन गरिएको छ। “उम्मेदवारले विगतमा जितेर वा नजितेरै पनि क्षेत्रको विकासमा योगदान दिएकै आधारमा जनमत बढ्ने विश्वास छ,” उनले बताए।
दुई पटक बेलडाँडीका प्रधान भइसकेका नेता बीरबहादुर विष्ट (प्रधान)ले महिला उम्मेदवारलाई पहिलो–दोस्रो प्रतिस्पर्धामा ल्याएर विजयी गराउने लक्ष्यसहित कार्यकर्ता उत्साहपूर्वक खटिएको बताए। अन्य दल तथा स्वतन्त्र समूहबाट समेत कार्यकर्ता नेकपामा प्रवेश गरिरहेकाले माहोल थप सकारात्मक बनेको उनको दाबी छ।
युवा नेता खडक थापाले युवा, विद्यार्थी, जेनजी, महिला, किसान, मजदुरदेखि ज्येष्ठ नागरिकसम्म नेकपाप्रति आकर्षित भएको बताउँदै ०७९ भन्दा ०८२ मा अझ राम्रो जनमत आउने विश्वास व्यक्त गरे।
उम्मेदवार बीना मगर ले बेलडाँडीको दिगो विकासका लागि आफू पहिल्यैदेखि सक्रिय रहेको र आगामी दिनमा पनि थप प्रतिबद्धतासहित काम गर्ने बताएकी छन्। ०७४ मा जितेकी उनलाई यसपटक पनि जनताले विकासको निरन्तरताका लागि साथ दिने अपेक्षा गरिएको छ।
