फागुन १८
धनगढी– कैलालीको धनगढीस्थित नवजीवन अस्पताल सुदूरपश्चिममा गुणस्तरीय स्वास्थ्य सेवाको आधारस्तम्भका रूपमा स्थापित हुँदै गएको छ। दुई दशकअघि सीमित पूर्वाधार र १५ शैयाबाट सुरु भएको यात्रा आज १०० शैयाको स्वीकृतिसहित पूर्ण क्षमतामा सञ्चालन हुँदै क्षेत्रीय स्वास्थ्य प्रणालीको महत्वपूर्ण केन्द्र बनेको छ।
२० औँ वार्षिक उत्सवका अवसरमा आयोजित पत्रकार सम्मेलनमार्फत अस्पतालले विगत २० वर्षको उपलब्धि, सेवा विस्तार र भावी योजनाबारे जानकारी गराएको छ। मेडिकल डाइरेक्टर डा. बिदुरमणी ढकालका अनुसार २०६२ सालमा स्थापना भएको अस्पतालले चरणबद्ध रूपमा पूर्वाधार विकास, विशेषज्ञ सेवा विस्तार र आधुनिक उपकरणको प्रयोग गर्दै सेवा गुणस्तरलाई निरन्तर उकास्दै आएको छ। २०७९ सालदेखि १०० शैयाको स्वीकृतिसहित अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा रहेको उनले बताए। “हामीले सुरुदेखि नै उपचार सेवासँगै स्वास्थ्य चेतना अभिवृद्धि र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेका छौँ,” उनले उल्लेख गरे।

अस्पतालमा इमर्जेन्सी, बहिरंग (ओपीडी) तथा अन्तरंग (आईपीडी) सेवा नियमित रूपमा सञ्चालनमा छन्। निःशुल्क सुत्केरी सेवा, खोप कार्यक्रम र विभिन्न स्वास्थ्य शिविरमार्फत ग्रामीण तथा विपन्न समुदायसम्म प्रत्यक्ष सेवा पुर्याउँदै आएको अस्पतालले जनाएको छ।
विशेषज्ञ सेवा विस्तारसँगै हाडजोर्नी तथा नसा रोग, प्रसूति तथा स्त्रीरोग, सामान्य चिकित्सा, मिर्गौला रोग, बालरोग, कान–नाक–घाँटी, मानसिक रोग, छाला तथा यौन रोग, कलेजो रोग, हार्मोन तथा मधुमेह, सामान्य शल्यक्रिया, न्युरो सर्जरी, युरोलोजी, एनेस्थेसियोलोजी, रेडियोलोजी तथा इमेजिङ, प्याथोलोजी, दन्तरोग, फिजियोथेरापी तथा पुनस्र्थापना, नर्सिङ र फार्मेसी विभाग सञ्चालनमा छन्।
साथै आइसियु (ICU), एनआइसियु (NICU), हेमोडायलाइसिस, सीटी स्क्यान तथा २४ घण्टा एम्बुलेन्स सेवाको उपलब्धताले जटिल अवस्थाका बिरामीलाई समयमै उपचार उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेलेको अस्पतालको दाबी छ। आधुनिक उपकरण र दक्ष जनशक्तिको संयोजनले उपचार प्रक्रिया थप प्रभावकारी र विश्वसनीय बनेको जनाइएको छ।
अस्पतालअन्तर्गत सञ्चालित नवजीवन कलेज अफ नर्सिङ एण्ड हेल्थ साइन्स मार्फत दक्ष स्वास्थ्यकर्मी उत्पादन भइरहेका छन्। यहाँ अध्ययनरत विद्यार्थीहरूले अध्ययनसँगै व्यावहारिक अनुभव प्राप्त गर्दै स्वास्थ्य सेवामा सकारात्मक योगदान पुर्याइरहेका छन्।

२० औँ वार्षिक उत्सवको उपलक्ष्यमा अस्पताल प्राङ्गणमै रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो। स्वास्थ्यकर्मी, विद्यार्थी तथा सर्वसाधारण नागरिकको उत्साहजनक सहभागिताले कार्यक्रमलाई सफल बनाएको अस्पतालले जनाएको छ। “रक्तदान जीवनदान” भन्ने सन्देशलाई आत्मसात् गर्दै गरिएको उक्त कार्यक्रमले सामाजिक उत्तरदायित्वप्रति अस्पतालको प्रतिबद्धता झल्काएको छ।
समुदायकेन्द्रित कार्यक्रम, विशेषज्ञ सेवा विस्तार र आधुनिक प्रविधिको प्रयोगका कारण नवजीवन अस्पताल सुदूरपश्चिमका नागरिकका लागि विश्वासिलो स्वास्थ्य गन्तव्यका रूपमा स्थापित हुँदै गएको छ। आगामी दिनमा सेवा गुणस्तर अभिवृद्धि, थप विशेषज्ञ चिकित्सकको व्यवस्था तथा प्रविधिमैत्री सेवा प्रणाली विस्तार गर्ने लक्ष्य अस्पतालले अघि सारेको छ।
दुई दशकको यात्राले प्रमाणित गरेको छ—सुदूरपश्चिममा गुणस्तरीय, भरपर्दो र समुदायमैत्री स्वास्थ्य सेवाको पर्यायका रूपमा नवजीवन अस्पताल दृढतापूर्वक उभिएको छ।
