केशव थापा, फागुन १८
कञ्चनपुर – आसन्न फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा कञ्चनपुर क्षेत्र नम्बर १ मा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ। यस क्षेत्रबाट बीना मगर पुनः चुनावी मैदानमा उत्रिएपछि गाउँ–गाउँ, टोल–टोलमा चुनावी छलफल र भेटघाट कार्यक्रम बढेका छन्। समर्थकहरू उनलाई यसपटक पनि विजयी गराएर पुनः संघीय संसदमा पठाउने अभियानमा सक्रिय देखिन्छन्।
पूर्व खानेपानी मन्त्रीसमेत रहनुभएकी मगरलाई यसपटक पुनः मन्त्रीको जिम्मेवारीमा देख्न चाहने समर्थकहरूको आवाज बलियो बन्दै गएको छ। महिला, किसान, युवा, जेन–जी पुस्ता, मजदुर, उद्योगी–व्यवसायी, शिक्षक तथा कर्मचारीलगायत विभिन्न पेशा–व्यवसायमा आबद्ध नागरिकहरू उनको पक्षमा खुलेर उभिएको दाबी नेकपा कार्यकर्ताहरूको छ। अन्य दलका केही नेता–कार्यकर्तासमेत दैनिक रूपमा नेकपामा प्रवेश गरिरहेको दृश्यले चुनावी समीकरणलाई थप रोचक बनाएको छ।
मगरले केपी शर्मा ओली नेतृत्वको सरकारमा खानेपानी मन्त्रीको रूपमा काम गर्दा ढल व्यवस्थापन, शहरी तथा ग्रामीण खानेपानी विस्तार र पूर्वाधार निर्माणका कार्यक्रम अघि बढाएकी थिइन्। सुदूरपश्चिम प्रदेशबाट पूर्ण मन्त्री बन्ने महिला नेतृको रूपमा उनले ऐतिहासिक उपलब्धि हासिल गरेकी थिइन्। त्यसअघि द्वारिकादेवी ठकुरानी सहायक मन्त्री बनेपछि लामो समयसम्म सुदूरबाट महिला नेतृत्व क्याबिनेटमा पुग्न सकेको थिएन। यस सन्दर्भमा मगरको उदयलाई धेरैले क्षेत्रीय गौरवका रूपमा लिने गरेका छन्।
राजनीतिक जीवनको सुरुवात विद्यार्थी आन्दोलनबाट गरेकी मगरको यात्रा संघर्ष र निरन्तरताले भरिएको छ। कञ्चनपुरको पुनर्वासस्थित सामुदायिक विद्यालयबाट अध्ययन प्रारम्भ गरी उच्च शिक्षाका लागि काठमाडौं पुगेकी उनी विद्यार्थी राजनीति हुँदै अखिल (क्रान्तिकारी) मा नेतृत्वदायी भूमिकामा पुगेकी थिइन्। रत्न राज्यलक्ष्मी क्याम्पस मा स्ववियू सदस्य पदमा अत्यधिक मतसहित विजयी भएकी उनी पछि जिल्ला अध्यक्षको जिम्मेवारीसमेत सम्हालिन्।
जनयुद्धकालमा गिरफ्तार भई २७ महिनासम्म यातना सहनु परेको अनुभवले उनको राजनीतिक प्रतिबद्धतालाई अझ दृढ बनाएको बताइन्छ। शान्ति प्रक्रियापछि सक्रिय राजनीतिमा फर्किएकी उनले संविधानसभा निर्वाचनदेखि संघीय निर्वाचनसम्म निरन्तर जनसम्पर्कलाई प्राथमिकता दिँदै आएकी छन्।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा करिब ४० हजार मत प्राप्त गरी विजयी भएकी मगर २०७९ सालमा पनि उल्लेख्य मतसहित प्रतिस्पर्धामा उत्रिएकी थिइन्। यसपटक उनी दोस्रो पटक सांसद बन्ने लक्ष्यसहित दीगो विकास, रोजगारी सिर्जना, धुवाँ–धुलो र हिलोमुक्त सडक, नदी–खोलामा पक्की पुल निर्माण, खानेपानी तथा सिँचाइ विस्तार जस्ता एजेन्डा लिएर मतदातामाझ पुगेकी छन्।
कञ्चनपुर क्षेत्र नम्बर १ मा अहिले अनुभव, योगदान र आगामी विकासको स्पष्ट खाकाबीच तुलना भइरहेको छ। चुनावी प्रतिस्पर्धा चर्किँदै जाँदा मतदाताको निर्णयले क्षेत्रको भावी राजनीतिक दिशा तय गर्नेछ। समर्थकहरू आशावादी छन् भने प्रतिस्पर्धीहरू पनि आ–आफ्नो रणनीतिमा सक्रिय छन्। फागुन २१ को मतदानले कञ्चनपुर–१ को राजनीतिक भविष्य पुनः एकपटक नयाँ मोडमा पुर्याउनेछ।
